कला


‘स्टारडम’को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

‘स्टारडम’को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

फाइल तस्बिर: अभिनेताद्वय प्रदीप खड्का र आर्यन सिग्देल


नेपालखबर
जेठ ८, २०८२ बिहिबार ५:३६, काठमाडौँ

नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्- आर्यन सिग्देल। चलचित्र ‘किस्मत’मार्फत अभिनयको सुरुआत गरेका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन्।

दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको छ। यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहँदैनन्। 

त्यसैले नै उनले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गरे। जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उनलाई चिनेनन्। त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गरे। आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उनी दुवै चलचित्रबाट असफल भए।

‘मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन। मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले। फलतः मेरो उपस्थिति कम भयो’, अभिनेता सिग्देलले भने।

उनलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन्। ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उनको छवि फेरियो। ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहेका छन्। 

फरक भूमिमका आर्यन सिग्देल

‘मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याएँ। अहिले म पात्रमा रमाउन थालेको छु’, अभिनेता सिग्देलले भने।

उनलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराए अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गरे। 

त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराए।

‘लभर ब्वाई’ को छवि बनाएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिए। अन्य निर्देशकले कल्पना पनि नगरेको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्य भएको बताए।

‘मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनु हुन्थेन। मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाएँ। उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो’, निर्देशक राउतले भने।

उनले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राखे। सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्छन्।

‘कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन। सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ’, उनले भने।

राउतले निर्देशन गरेका चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदै छ। उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad