चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन्। उनलाई ‘मिरमिरे’को मुख्य भूमिकामा अनुबन्ध गरिएको हो।
चलचित्र ‘कार्साङ’फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनमा बन्न थालेको हो। शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन्।
‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ। यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो। अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ।’
‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ। अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन्।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको छ।
चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन्। यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन्।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया