कला


नेपथ्य अमेरिका शृंखला: नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक

नेपथ्य अमेरिका शृंखला: नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक

नेपालखबर
जेठ १९, २०८२ सोमबार १०:३४, काठमाडौँ

नेपथ्यको कन्सर्टमा दुई चिज छुट्दैनन्, एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा।

पिट्सबर्गको ‘रक्सिन थिएटर’ मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो। त्यो थियो– पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा।

पुनर्वास गराइएका भुटानीको उल्लेख्य संख्या हलमा देखेपछि गायक अमृत गुरुङले मञ्चबाटै आह्वान गरे, ‘विगतलाई बिर्सनुहुँदैन तर माफ गरेर अघि बढ्ने हौसलाचाहिँ राख्नैपर्छ। हामी संसारभरि फैलिएका नेपालीलाई आपसमा जोड्ने यही भाषाले हो। यो सद्भाव सदैव कायम रहोस्। कसैले कसैमा द्वेष नराखी अगाडि बढ्नुस् है।’

प्रत्युत्तरमा दर्शकले केही बेरसम्मै ताली बजाए।

चार्टियर्स एभेन्युमा छरिएका दर्शकका निम्ति निर्धारित समय अनुसारै बेलुकी ८ बजे हलका ढोकाहरू खोलिएका थिए भने त्यसको ठीक एक घण्टामा मञ्चमा अमृत र उनको टिम उपस्थित भएको थियो। ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट कन्सर्ट सुरु भएको थियो। त्यसलाई ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दियो।

मञ्च र दर्शकदीर्घा दुवैतर्फको उत्साह र उत्तेजनाले सुरुवातदेखि नै आपसमा एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।

दर्शकको समूहमा थिइन् ७३ वर्षीया पेग्गी स्टर्लिङ। सानै उमेरमा जर्मनीबाट अमेरिका आएकी पेग्गीको फरक–फरक कन्सर्टमा उपस्थिति जनाउने बानीजस्तै छ। सक्रिय उमेर छँदा उनी पतिका साथ यस्ता सांगीतिक जमघटमा खोजी–खोजी जान्थिन्।

‘श्रीमान्‌को २० वर्षअघि निधन भएपछि म एक्लैले त्यस बानीलाई निरन्तरता दिएँ,’ उनले सुनाइन्, ‘नेपालको ब्यान्ड आउँदै छ भन्ने थाहा पाएपछि गुगलमा नेपथ्यबारे जानकारी लिएँ र यसरी आज हलसम्म आइपुगेकी छु।’

इन्टरनेटबाट जानकारी लिएको ब्यान्डसँग के अपेक्षा गर्ने भन्ने खासै थाहा नपाएरै आउँदा पनि कन्सर्टमा आफूले भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया उनले दिइन्। ‘भाषै नबुझे पनि छेउछाउका सबैले मनोरञ्जन लिइरहेको माहोलले नै रमाइलो बनाउँदो रहेछ,’ पेग्गीले थपिन्, ‘त्यसो त धुन र परिवेशले शरीरलाई तरंगित पारिरहँदा भाषा खासै आवश्यक पनि पर्दैन।’

समग्रमा नेपथ्यको प्रस्तुति सबै हिसाबले आफूलाई राम्रो लागेको उनले बताइन्।
   
दर्शकदीर्घामा रहेर ब्यान्डसँग गाउँदागाउँदै घाँटी नै सुकेको साबी सिवाकोटीले सुनाइन्। बहिनीको साथमा पहिलोपटक नेपथ्य कन्सर्ट हेर्न आएकी उनले भनिन्, ‘भएभरका सबै रमाइरहँदा आफूलाई पनि नाचिरहूँ गाइरहूँ लाग्दो रहेछ।’

मोरङको पथरी क्याम्पमा जन्मिएकी साबी चार वर्षकै उमेरमा शरणार्थी परिवार पुनर्वासका क्रममा अमेरिका आएकी हुन्।

पुनर्वास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको पेन्सिलभानिया राज्यमा नेपालीभाषी समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा खुसी लागेको गायक अमृतले उल्लेख गरे। अमृतले मञ्चबाटै अनुरोध पनि गरेका थिए, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौं है।’

शनिबारको कन्सर्टको आयोजक टोलीकी एक सदस्य पनि भुटानी शरणार्थी परिवारकै विद्या पुलामी थिइन्। राष्ट्रिय पहिचान भुटानी भए पनि आफूहरू नेपाली नै रहेको उनी बताइरहेकी थिइन्।

‘हामी धपाइएर आएको भए पनि भुटानको समेत उत्तिकै माया लाग्छ,’ उनले भनिन्, ‘त्यसैले कार्यक्रममा मैले बोक्ने झन्डा नेपाल र भुटान दुवै मुलुकका हुन्।’

कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानका पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे। पैदलै गाउँबस्ती पुग्दा गीत संकलन गरेको र कतिपय गीत उतैको रमाइलोमा तयार पार्ने गरेको पनि उनले सुनाए। पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरहरूले पनि उनको भनाइलाई सघाइरहेको देखिन्थ्यो।

अमेरिकी सहर पिट्सबर्गमा पहिलो कन्सर्ट भए पनि कतिपय दर्शकका लागि यो पहिलो नेपथ्य अनुभव थिएन। उदाहरण हुन् बेलडाँगी शिविरमा जन्मेका राजेन् सापकोटा। राजेन् गत वर्ष छेवैको पेन्सिलभानियाली सहर ह्यारिसबर्गमा आयोजित नेपथ्य कन्सर्ट हेर्न पुगेका थिए। त्यसभन्दा पहिले त झन् परको कोलम्बस सहर अनि अझ सन् २०१६ मा एटलान्टा सहरमा आयोजित नेपथ्य कन्सर्ट हेर्न पनि उनी पुगेका थिए।
‘म नेपथ्यलाई छातीमै लिएर हिँडेको छु भन्दा पनि फरक पर्दैन,’ उनले उत्साहका साथ थपे, ‘आफू नेपालमा हुर्कँदै गर्दा मन परेका यसका गीतहरू र यो ब्यान्डप्रति मेरो मनमा अटाएको प्रेमलाई शब्दहरूले व्याख्या गर्न गाह्रो हुन्छ।’

राजेन्द्रका अनुसार उनी १३ वर्षको उमेर छँदा सन् २०११ मा अमेरिका आएका हुन्।

 कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गमा सकिएसँगै ब्यान्ड अब फेरि उत्तरतर्फ उक्लनेछ। अबको गन्तव्य हुनेछ भव्य सिकागो सहर। जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यो सहर कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ। त्यहाँस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ।

सिकागोपछि ब्यान्ड बोस्टन सहर पुग्नेछ। त्यहाँको ‘रोयाल बोस्टन’ हलमा जुन ११ मा नेपथ्यको प्रस्तुति रहनेछ। त्यसपछि भने १४ सदस्यीय नेपथ्य टोली नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ। त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षको अमेरिका यात्रा बिट मार्दै ब्यान्ड स्वदेश फिर्नेछ।

यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad