पाकिस्तानको इस्लामाबाद प्रहरीले टिकटकर १७ वर्षीया सना युसुफको हत्यामा संलग्न व्यक्ति पक्राउ गरिएको दाबी गरेको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार हत्याको २० घण्टापछि प्रहरीले उमर हयात नामका व्यक्तिलाई गिरफ्तार गरेको हो। जसलाई ‘काका’ उपनामले पनि चिनिन्छ।
टिकटकर सना युसुफलाई एक अज्ञात व्यक्तिले सोमबार साँझ पाकिस्तानको राजधानी इस्लामाबादस्थित घरमा परिवारसँग बसिरहेका बेला गोली हानेर मारेका थिए।

सीसीटीभी फुटेजका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरिएको इस्लामाबाद प्रहरीले जनाएको छ। उनलाई अपराध स्वीकार पनि गरिसकेको दाबी प्रहरीले गरेको छ।
इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीले सञ्चारमाध्यमलाई बताएअनुसार उमरलाई फैसलाबादबाट पक्राउ गरिएको हो। उनको साथबाट सनाको मोबाइल पनि बरामद गरिएको छ।
पत्रकार सम्मेलनमा आईजी रिजवीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट आरोपितले सनालाई मन पराउँथे र उनीसँग साथी बन्न चाहन्थे तर सनालाई यो कुरा मन परेन। सनाले आरोपितको मित्रताको प्रस्ताव धेरैपटक अस्वीकार गरेकी थिइन्। ती व्यक्ति धेरै दिनदेखि फोन र सामाजिक सञ्जालमार्फत सनालाई सम्पर्क गर्ने प्रयास गरिरहेका थिए।’
प्रहरीका अनुसार यस क्रममा सोमबार (जुन २) ती व्यक्ति सनाको घर नजिकै आए र उनलाई भेट्ने कोसिस गरे। तर जब सनाले भेट्न अस्वीकार गरिन्, तब उनले हत्या गरे।
अभियुक्तबारे विस्तृत जानकारी दिइएको छैन। यद्यपि अभियुक्त म्याट्रिक पास हुन् र उनका बुबा अवकाशप्राप्त सरकारी कर्मचारी हुन्।
सनाकी आमाले बताएअनुसार उनी उमरलाई पहिलेदेखि चिन्थिन् र त्यस दिन उनी सनालाई जन्मदिनको शुभकामना दिने बाहनामा घरमा आएका थिए। सोमबार सनाको जन्मदिन थियो।
सना युसुफ १७ वर्षकी मात्र थिइन्।
उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा थिइन्, तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बसिरहेको छ।
उनको टिकटक अकाउन्टमा झन्डै ८१ हजार फलोअर्स छन्।
Shares

प्रतिक्रिया