फिल्म ‘जन्ते बाख्रो’को प्रिमियर शो गरिएको छ।
बुधबार काठमाडौँको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा गरिएको प्रिमियर शोमा फिल्म रुचाइएको छ।
फिल्म हेरिसकेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथा पर्दामा हेर्न पाइएको प्रतिक्रिया दिइन्।
‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु। आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो। उहाँ यसअगाडिका फिल्मभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ’, उनले भनिन्।
अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ले परम्पराको जानकारीसँगै सिनेमाले मनोरञ्जन दिने बताए।
उनले अभिनेता शाहको अभिनय र ग्रामिण परिवेशसँगै सिनेमामा कैद सुन्दर दृश्यको तारिफ गरे।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माणकै प्रक्रियामा आफूले पटकथाबारे जानकारी पाएको बताए।

सिनेमा हेरेर निस्किँदा उनले पटकथा रमाइलोसँग प्रस्तुत गरिएको भनी प्रशंसा गरे।
गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए।
‘जन्ते बाख्रो’ यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ। लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ। मैले इन्जोय गरेँ’, गायक काफ्लेले भने।
सिनेकर्मी र सञ्चारकर्मीको ‘जन्ते बाख्रो’ मनोरञ्जनको प्याकेज भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन्।
‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनुभएको छ। यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहीँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ। यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो। हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन्।
पहिलोपटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको सुनाए।
जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भइसकेको छ।
हलहरूले प्रचार समाग्रीका आधारमा यसलाई राम्रो शो दिएका छन्।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन्।
Shares

प्रतिक्रिया