काठमाडौँस्थित तारागाँउ नेक्सटमा ‘एट द टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रुफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी जारी छ।
विश्व वातावरण दिवसको अवसरमा बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारदेखि सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ।
कला र वातावरणीय चेतनको संगमका रूपमा प्रस्तुत यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो।
सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित प्रदर्शनी ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्।
उनले विश्वव्यापी पारिस्थितिको आवश्यकता विचार गरेर प्रदर्शनी आयोजना गरिएको बताइन्।
उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेका प्रभाव विभिन्न माध्यमबाट चित्रण गरिएको छ।
तीन महिनासम्म चल्ने प्रदर्शनीमा श्रष्टाले विभिन्न माध्यमबाट आफ्नो कला देखाउनेछन्।
प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिए।
शरीरमा रातो माटो पोतेर भूमिसँग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्ध उजागर गर्छ।
उनको प्रदर्शनी उत्तर-उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ।
औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धि सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमा केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाका माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उद्देश्य राखेको छ।
जारी प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारले विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटबारे विविध दृष्टिकोण प्रस्तुत गर्नेछन्।
प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडिओले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमा प्रश्न उठाउनेछ भने उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा व्यक्त गरेको छ।
यसैगरी उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ दिने प्रयास गरेको छ।
त्यस्तै मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्छ भने नेपाली कलाकार समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले सहरीकरणबीच हराउँदै गएको भँगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत प्रतिविम्बन गराउने जमर्को गरेको छ।
यस्तै अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भूपरिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरिरहेका छन्।
प्रदर्शनीकी अर्की सहभागी मोनिका उर्सिना जेगरले ‘लिक्विड टाइम’मार्फत पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ भने जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियाले कीराको जनसंख्यामा आइरहेको गिरावटलाई डिजिटल रुपमा देखाइएको छ।
क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराका बच्चाहरूका तस्बिर र चलचित्र प्रस्तुत गरिरहेका छन्।
सौर्गङ्गा दर्शनधारीको नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोड्ने काम गर्छ भने रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स एन्डको सोनिकमार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन्।
त्यसैगरी मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जनाहरू विशेष प्रस्तुतिका रूपमा समावेश छन्।
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालका खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेर पेस गर्ने काम गरेको छ।
Shares

प्रतिक्रिया