आउँदो शुक्रबारदेखि रिलिज हुने फिल्म ‘महाभोज’ को अग्रिम बुकिङ टिकट खुला गरिएको छ। प्रदर्शन मिति नजिकिँएसँगै केही हलहरुले टिकट खुलाएका हुन्।
यस फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ। वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुला गरिसकेका छन्।
आईएनआई सिनेमान, बिग मुभिज लगायतका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।
दिनेश राउत निर्देशित यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको अभिनय छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन्। सहकारी पीडितको कथामा बनेको यस फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।
यसअघि यो फिल्म जेठ १५ गतेबाट रिलिज हुने भनिएको थियो। तर, आन्दोलनका कारण रिलिज मिति सार्दै जेठ ३० गतेका लागि तोकिएको हो।
Shares

प्रतिक्रिया