फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। केही दिन अगाडि यो चलचित्रका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको थियो। आज भने भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको छ।
भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन्। झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन्। सँगै छन् आरुस। झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन्। लुगा पसिनाले निथ्थ्रुक्क भिजेका छन्।
उनको यो स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ। पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ। फिल्ममा भोलाराजको छोराको भूमिकामा आरुस छन्।
उनले भनेका छन्, यो संसारमा सबैभन्दा महंगो केरो बाबाको पसिना रहेछ। यसले बाउले छोराका लागि गरेको संघर्ष बुझाउँछ।
जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन्। विजय बरालको मुख्य भूमिका रहेको यो फिल्म भदौ ६ गतेबाट रिलिज हुनेछ।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्। यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ। असोसियट निर्देशक राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ।
यस फिल्ममा विजय, भोलाराज र आरुससँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।
Shares

प्रतिक्रिया