कला


‘दृश्य सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?’ शीर्षकमा सरोकालवालाबीच छलफल

‘दृश्य सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?’  शीर्षकमा सरोकालवालाबीच छलफल

नेपालखबर
असार ३, २०८२ मंगलबार १३:०, काठमाडौँ

फिल्म र म्युजिक भिडिओका दृश्यमा सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकजुट भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको थियो। ‘दृश्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ ?’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्तो धारणा थियो।

डा देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्न आग्रह गरे। ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं। महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्,’उनले भने।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने विचार राखे। फिल्ममा देखाइएको दृश्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको उनको भनाइ छ।

उनले थपे, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु।  जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।’

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे।

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामतीलगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि बनाउनुअघि गम्भीर भएर  सोच्नुपर्ने उनको भनाइ छ।

यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे।

अध्ययन र अनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृश्य देखेर सिकेको बताउनेहरूको संख्या उल्लेख्य रहेको बताए। उनले भने, ‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडिओमा त्यस्ता दृश्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरूले सचेत हुनुपर्छ।’

म्युजिक भिडिओ कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृश्यहरू कटौती गर्दै लगिएको दाबी गरे। देखासिकीमा त्यस्ता दृश्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृश्यमा कटौती भइरहेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृश्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए। साथै सुर्तीजन्य पदार्थका विषयमा रहेका कानुनी प्रावधान समेत उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पुर्‍याइरहेको हानीबारे जानकारी दिएका थिए। कला क्षेत्रले जनस्वास्थ्यका पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad