कला


यी पाकिस्तानी हिरोइनका कारण भारतका रोकियो ‘सरदारजी ३’ को रिलिज

विवादमा परे अभिनेता दिलजित दोसाँझ
यी पाकिस्तानी हिरोइनका कारण भारतका रोकियो ‘सरदारजी ३’ को रिलिज

अभिनेत्री हानिया आमिर र अभिनेता दिलजित दोसाँझ। फोटो: इन्स्टाग्राम


नेपालखबर
असार १२, २०८२ बिहिबार ८:५२, काठमाडौँ

पन्जाबी फिल्म 'सरदारजी ३' को ट्रेलर रिलिज भएदेखि नै अभिनेता दिलजित दोसाँझ विवादमा परेका छन्।

यसको कारण हो- ट्रेलरमा पाकिस्तानी अभिनेत्री हानिया आमिरको उपस्थिति। 

पाकिस्तानी अभिनेत्री हानिया आमिर

भारतका धेरै भागमा केही मानिसले फिल्म र दिलजित दोसाँझको बहिष्कार गर्न माग गरिरहेका छन्।

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण यो विरोध भइरहेको हो।

यसैबीच दिलजित दोसाँझले बीबीसी एसियन नेटवर्कसँग विशेष कुराकानी गरेका छन्। 

जसमा उनले फिल्म बनाउँदाको परिस्थिति के थियो र हानिया आमिरसँग काम गर्दाको अनुभव कस्तो थियो भनेर बताएका छन्।

फिल्म 'सरदारजी ३' बारे दोसाँझले भने, ‘यो फिल्म बनुन्जेलसम्म सबै कुरा ठिक थियो। फिल्म छायांकन फेब्रुअरीमा भएको थियो, तर त्यसपछि जे भयो त्यो हाम्रो हातमा थिएन।’

उनले अगाडि भनेका छन्, ‘निर्माताहरूले यस फिल्ममा धेरै पैसा लगानी गरेका छन्। तर यो भारतमा रिलिज हुन नसक्ने भएकाले उनीहरूले यसलाई विदेशमा रिलिज गर्ने निर्णय गरेका छन् र उनीहरूलाई मेरो साथ छ।’

तर यो निर्णयले घाटा हुने उनले बताएका छन्।

अभिनेता दलजित दोसाँझ

उनले भनेका छन्, ‘निर्माताहरूले निश्चित रूपमा घाटा बेहोर्नेछन्, किनकि हामी यसलाई धेरै ठूलो क्षेत्रमा रिलिज गरिरहेका छैनौँ।"

यस फिल्मका निर्माता गुनवीर सिंह सिद्धू हुन्।

दिलजित दोसाँझले पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग काम गर्दाको अनुभव सुनाउँदै भने, ‘उनीसँग काम गर्नु एकदमै राम्रो अनुभव भयो। उनी आफ्नो काममा धेरै व्यावसायिक छिन्।’

उनले अगाडि भनेका छन्, ‘जब हामी काम गरिरहेका हुन्छौँ, हामीसँग धेरै समय हुँदैन। मानिसहरू सोच्छन्- हामी सँगै धेरै समय बिताउँछौँ, तर वास्तविकतामा त्यस्तो होइन।’

अभिनयका क्रममा अभिनेत्री हानिया आमिर र अभिनेता दलजित दोसाँझ

उनले थप भने, ‘म सबैको गोपनीयताको सम्मान गर्छु। म आफैँ पनि धेरै निजी व्यक्ति हुँ र अरूलाई ठाउँ दिनुपर्छ भन्नेमा विश्वास गर्छु। विशेष गरी महिलाहरूलाई बढी ठाउँ दिनुपर्छ।’

विवाद के हो?

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच मनमुटाव बढेको छ।

जसको असर मनोरञ्जन जगत्‌मा पनि स्पष्ट रूपमा देखिएको छ।

भारतमा पाकिस्तानी सिनेमासँग सम्बन्धित धेरै सेलिब्रेटीहरूको सामाजिक सञ्जाल अकाउन्ट बन्द गरिएका छन्।

सामाजिक सञ्जालमा भारतीय कलाकारहरूले अब पाकिस्तानी कलाकारहरूसँग काम गर्नु हुँदैन भन्ने आवाज उठिरहेको छ।

अखिल भारतीय सिने श्रमिक संघले अब कुनै पनि भारतीय कलाकारले पाकिस्तानीसँग काम नगर्ने अडान लिएको छ। 

मुम्बईस्थित फिल्म कर्मचारी संघ 'फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज'ले भारतमा अभिनेता दिलजित दोसाँझको फिल्म बहिष्कार गर्ने घोषणा गरेको छ।

संघका प्रमुख सल्लाहकार अशोक पण्डितले भने, ‘दिलजित दोसाँझ सधैँ उद्योगको नियमविरुद्ध छन्। उनले निरन्तर पाकिस्तानी कलाकार र गायकहरूलाई प्रवर्द्धन गरिरहेका छन्।’

उनले थपे, ‘यो राष्ट्रिय हितको विषय हो र हामी उनलाई अपिल गरिरहेका छौँ।’

संघका अध्यक्ष बीएन तिवारीले पनि दिलजित दोसाँझ र फिल्मका निर्मातालाई बहिष्कार गरिने बताएका छन्।

पाकिस्तानी अभिनेत्री हानिया आमिर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। प्रायः उनका रिलहरू पन्जाबी वा बलिउड गीतमा देखिन्छन्। भारतमा पनि उनका धेरै जना प्रशंसक छन्।

दिलजित दोसाँझले हालै आफ्नो एक लाइभ कन्सर्टमा हानिया आमिरलाई स्टेजमा आमन्त्रण गरेका थिए। जसबारे सामाजिक सञ्जालमा धेरै चर्चा भयो।

फिल्म 'सरदार जी ३' का निर्माता गुनवीर सिंह सिद्धूले बीबीसी पन्जाबी पत्रकार नवजोत कौरसँगको कुराकानीमा वर्तमान अवस्थालाई ध्यानमा राख्दै फिल्म भारतमा रिलिज नगरिने बताएका छन्।

सिद्धूले भने, ‘हामी हाम्रो देश र यसका जनताका साथमा छौँ, त्यसैले हामी भारतमा फिल्म रिलिज गर्दैनौँ। फेब्रुअरीमा फिल्म छायांकन हुँदा भारत र पाकिस्तानबीच कुनै तनाव थिएन।’

उनले सम्पूर्ण फिल्म पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग छायांकन गरिएको छ र पोस्ट-प्रोडक्सनमा उनलाई हटाउन सम्भव नभएको पनि बताए। 

उनी भन्छन्, ‘फिल्ममा हानियाको अनुहार परिवर्तन गर्न सक्ने कुनै प्रविधि छैन।’

उनले भारतमा रिलिज नगर्दा हुने आर्थिक क्षति आफ्ना लागि ठूलो कुरा नभएको दाबी पनि गरे। 

सिद्धूले भने, ‘देशवासीको भावनामा चोट पुर्‍याउनु भन्दा ठूलो क्षति हाम्रा लागि केही छैन।’

दिलजित दोसाँझको आलोचनाबारे सिद्धूले भने, ‘उनका विषयमा जुन प्रकारको अपमानजनक भाषा प्रयोग भइरहेको छ, त्यो गलत हो। हाम्रा लागि पहिलो नम्बरमा हाम्रो देश हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad