यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ
सधैँझैँ शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गर्न लागेको मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा पनि यो कविताको चर्चा होला। सधैँझैँ थुप्रैले ठान्लान्– यो मदन भण्डारीले नै लेखेको कविता हो।
तर, यथार्थ अर्कै छ।
यो भण्डारीको निधनपछि कवि विप्लव प्रतीकले ‘योद्धा र मान्छे’ शीर्षकमा लेखेको कविता हो। तर, सन् २०१० मा विप्लव अमेरिकाबाट काठमाडौँ आएका बेला उनले काम गरेको ‘हिमाल’ पत्रिकामा एउटा विज्ञापन देखे। कविताको यही दुई हरफ त्यहाँ राखिएको थियो र लेखकको नाम थियो– मदन भण्डारी। आफूले लेखेको कविता अर्कैको नाममा देखेपछि विप्लव झस्किए।
उनले गुरुकुल थिएटरका जन्मदाता सुनिल पोखरेललाई सोधे– यो के हो?
जवाफमा पोखरेलले भने– ए, त्यो तपाईंको चिज हो? किन कसरी उसको नाममा जान पाउँछ?’
यो विषयमा त्यतिबेला विवाद नै चल्यो। ‘दासढुंगा’ फिल्ममा पनि यो कविताको हरफ भण्डारीकै भनेर राखिएको छ।
‘दासढुंगा भन्ने फिल्मको लागि जसले रिसर्च गरेको थियो, उनीहरूले पनि त्यही बेलुका मलाई धम्की दिएर फोनसम्म गरे,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका विप्लवले त्यो घटना सम्झिँदै भने, ‘प्रचारमा आउनको लागि यस्तो गर्ने भन्दै मलाई हप्काए। अनि मैले प्रचारमा आउनको लागि यस्तो गरेको रहेछ भने तिमीहरूको लागि म जन्मेको नै छैन भनेर फोन काट्दिएँ।’
यो कविता भण्डारीको नाममा यतिसम्म प्रचार भयो कतिपयले उल्टै विप्लवलाई ‘कविता चोर’सम्म भन्न भ्याए। यो प्रसंग उप्किनासाथ विप्लव थोरै आक्रोशमा बोल्छन्, ‘अलिकति लाजसरम पनि चाहियो नि। मदन भण्डारी जस्तो मान्छेले, आफू मर्नुभन्दा अगाडि आफूलाई योद्धा भनेर कविता लेख्छ होला त? त्यो त अरू मान्छेले भन्ने हो नि।’
विप्लवलाई लाग्छ, अहिलेको अवस्थामा भएको भए सायद उनी यस्तो कविता लेख्थेनन्।
‘अहिलेको जस्तो अवस्थामा भएको भए सायद म यो लेख्दिनँ थिएँ होला,’ उनी भन्छन्, ‘त्यो बेला समाज परिवर्तनको एउटा सँघारमा थियो। परिवर्तनको संवाहकको रूपमा धेरैले विश्वास गरेको नेता हुनुहुन्थ्यो मदन भण्डारी। उहाँको देहावसान कसरी भयो, के भयो, त्यो अहिले पनि रहस्यकै गर्भमा छ। तर, यो कविता त्यही बेलामा राति साढे तीन बजेतिर मैले लेखेको थिएँ। त्यो डायरी अहिले पनि छ।’
सुरुमा विप्लव बढी नै भावविभोर हुँदा कविता लामो हुन पुगेको थियो। पछि उनले छोट्याएर दृष्टि साप्ताहिकमा शम्भु श्रेष्ठलाई पठाए।
‘त्यो अब तुरुन्तै छाप्ने भन्ने भयो तर त्यो बेलामा मदन भण्डारी विशेषांक निस्किने भयो,’ विप्लव सम्झन्छन्, ‘चार पन्नाको सप्लिमेन्ट निस्किँदाखेरि अधिकांश ठाउँहरूमा पार्टी कमिटीको श्रद्धान्जली छापियो। अनि श्रद्धान्जलीको माथि ब्यानरमा टुक्राटुक्रा गरेर मेरो कविताको हरफ। जसकारण कतिपयलाई ती हरफ नै मदन भण्डारीको भन्ने भ्रम भयो।’
आइतबार टुक्राटुक्रा पारेर छापिए पनि बुधबार सोही पत्रिकामा पूरै कविता छापियो, विप्लव प्रतीककै नाममा। सायद धेरैले त्यो ख्याल गरेनन्।
‘बुधबार कविता छापिँदा त्यतिबेलाका सम्पादक अग्निशिखाले कविताको मुनि सम्पादकीय नोट नै राख्नुभएको थियो। जहाँ आइतबार अंकमा छापिएको कविताको हरफ यसबाटै उद्धृत गरिएको भनेर प्रष्ट लेखिएको थियो। तर मान्छेले त्यो पछिल्लो अंक हेरेनन्। अगाडिको मात्रै हेरे। अनि त्यो दुई हरफ लेख्ने मदन भण्डारी नै भन्न ठाने,’ विप्लव सम्झन्छन्।

लामो श्वेत कपाल, सेतै दाह्री र शिरमा ह्याट लगाएर सहरका गल्लीहरूमा ओहोरदोहोर गर्ने विप्लव प्रतीकको साहित्यवृत्तमा बेग्लै पहिचान छ। विप्लव भनेको क्रान्ति तर कवि विप्लव भनेपछि धेरैको मस्तिष्कमा प्रेमको बिम्ब फनफनी नाच्छ। मान्छेहरू भन्छन्, विप्लव प्रतीक कमलो छ, कविता पनि कमलो नै लेख्छ। हामीले विप्लवलाई सोध्यौँ– ‘के यथार्थ त्यस्तै हो।’
सायद प्रेमका कवि मात्रै भन्दा विप्लवको चित्त दुखेको छ।
उनी कड्किँदै भन्छन्, ‘खै कमलो कविता अथवा अलिकति सारो कविता भनेको के हो? त्यो त म बुझ्न सक्दिनँ तर मलाई के लाग्छ भने यो मान्छेलाई एउटा ठाउँ त दिनुपर्छ है भनेर जर्बजस्ती दिइएको ट्याग हो यो। नत्र भए मैले प्रेमको मात्रै कविता लेखिरहेको छु त? यो समाज, राजनीति, विज्ञानबारे म सचेत नहुँला र? नलेखुँला र?’
लगत्तै हामीले प्रतिप्रश्न गर्यौँ– ‘तर बढी तपाईंलाई प्रेम कविताहरूले नै चिनायो नि त।’
जवाफमा उनी स्वीकार्दै भन्छन्, ‘त्यही नै सुन्न चाहे मान्छेहरूले। तर कविता कमलो र सारो हुँदैन।’

म उसको बह बुझुँ, तर उसले चालै नपाओस्
मैले हिफाजत गरेको उसले पत्तै नपाओस्
माया अब कसैसँग गर्न मन छैन
माया मात्र अब महसुस गर्न मन छ...
यो विप्लव अर्को चर्चित कविता हो। सामाजिक सञ्जालमा पनि यसका क्लिपहरू भाइरल छन्। विप्लवले २९ वर्षको उमेरमा बिहे गरे। १४ वर्षसम्म श्रीमतीसँगै बसे। त्यसपछि अहिले सिंगल छन्। हामीले सोध्यौँ– ‘यो कविता लेखिसकेपछि कसैसँग माया बस्यो कि बसेन?’
‘गरियो होला, गरेँ भनौँ न,’ विप्लवले भने, ‘तर यो कविता लेखिसकेपछि धेरै लामो अन्तरालसम्म त्यो चिजतिर मेरो कुनै पनि ध्यान गएन। अहिले पनि छैन। किनभने प्रेम केटाकेटीबीच आई लभ यु भनेर, सँगै कतै घुम्न गएर, डिनर गरेर, इन्टिमेट रिलेसन राखेर हुने होइन रहेछ। यसको मतलब यस्तो नगर्नु भनेर कसैलाई भन्ने कुरा पनि भएन। आ–आफ्नो रियलाइजेसन हो। त्यसकारण इट्स द मोस्ट डिफिकल्ट थिङ टु लभ। यो कविता लेखिसकेपछि मलाई त्यस्तै फिल भयो।’
‘डिभोर्सपछि लेख्नुभएको हो यो कविता?’
विप्लव फेरि कड्किन्छन् र उल्टै प्रश्न गर्छन्– ‘डिभोर्स कसको भयो?’
‘तपाईंको भएको होइन?’
‘खै, त्यो कुरा के कोट्याइराख्ने र?’ जवाफमा उनी भन्छन्, ‘त्यसलाई डिभोर्स पनि नभनौँ। हामी सँगैसँगै हिँडिरहेका थियौँ। त्यसलाई एउटा अन्जाम दिनको लागि दुवैले कोसिस गर्यो होला। तर दुवैजना त्यसमा परिपक्व वा अपरिपक्व भएर इगो नसाँधिकन दुवैले अब यो चाहिँ भएन भनेर महसुस गरेर आ–आफ्नो बाटो हिड्यौँ।’
विप्लवलाई अचेल लाग्छ, जे कुरालाई हामी माया भनिरहेका छौँ, त्यो वास्तवमा माया होइन रहेछ।
‘मानसिक अथवा हृदयगत दुर्घटना भएपछि मैले यो कविता लेखेका थिएँ,’ उनले कविताको गर्भकथा खुलाए, ‘त्यस्तो किसिमको ब्याक टु ब्याक दुई–तीनवटा घटना भए। मलाई के महसुस भयो भन्दाखेरी जुन कुरालाई हामीले माया भनिरहेका छौँ त्यो माया होइन। आफूसँग बिछोड भइसकेको मान्छेको मतलब गरिरहने, शुभेच्छा प्रकट गरिरहने, आशीर्वाद दिइरहने, भलो होस् भनेर हृदयदेखि नै चिन्तन गरिरहने। जुन क्षण बिताइएको थियो त्यसलाई सेलिब्रेट गर्ने। जस्तो कोही एउटा युवती छ होला। जसलाई म अत्यधिक प्रेम गर्छु। तर उसलाई मैले कहिल्यै थाहै दिएको छैन। सुन्दाखेरी अलिकति फिल्मी, अलिकति फिक्सन फिक्सन जस्तो सुनिएला। तर त्यस्तो गर्न सकिन्छ नि।’

‘हर रात सपनीमा ऐँठन हुन्छ,
गाउँमा सायद पहिरो गयो कि...’
यो विप्लवले लेखेको दीप श्रेष्ठले गाएको एउटा चर्चित गीत हो। सायद सधैँझै यो बर्खामा पनि बेस्सरी घन्किनेछ यो गीत। काठमाडौँ सहरमै हुर्किएका विप्लवलाई हामीले सोध्यौँ– ‘गाउँबाट सहरमा आएका मान्छेको मनको बह पोख्ने गीत कसरी लेख्न सक्नुभयो?’
जवाफमा विप्लवले यो गीत आफ्ना बुबा कृष्णप्रसाद सर्वहारालाई सम्झेर लेखेको बताए।
‘मेरो बुवा र म एउटै सहरमा भए पनि सँगै बस्दैन थियौँ,’ उनले गीतको गर्भकथा सुनाउँदै भने, ‘कुनै मनमुटावले होइन, आ–आफ्नै अन्डरस्ट्यान्डिङले हामी अलगअलग बस्थ्यौँ। बुबा माटोले जोडेको घरमा बस्नुहुन्थ्यो। म सिमेन्टेड घरमा। बालुवाटारमा डेरा लिएर बस्थेँ। जब चट्याङ या पानी पथ्र्र्यो, त्यो रात मेरो छटपटीमा बित्थ्यो। किनभने मेरो बा मेरो आदर्श व्यक्ति हो। बुबा स्कुलमा पढाउनुहुन्थ्यो। म चट्याङ या पानी परेको रातको भोलिपल्टै उहाँलाई खोज्दै स्कुलमा फोन गर्थें। बुबाको स्वर सुनेपछि सोध्थेँ– तपाईंलाई ठिक छ सबै? उताबाट ठिक छ भन्ने जवाफ आएपछि शनिबार भेट्न आउँछु भनेर फोन राख्थेँ।’
यही सिलसिलामा एकपटक कतै ठूलो बाढी गइरहेको थियो। त्यो बेलामा उनले दुई लाइन लेखे– हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि?
‘गाउँ भनेको मेरो लागि बुवाको घर थियो,’ विप्लव भन्छन्, ‘तर सिधै हर रात सपनीमा ऐँठन हुन्छ, मेरो बाउको घर भत्क्यो कि? भनेर भन्न मिलेन। त्यसैले बुबाको घरलाई गाउँको बिम्व बनाएर यो गीत लेखेको थिएँ। मान्छेहरूले मन पराउलान् या हिट होला भनेर लेखेको थिइनँ।’
यो गीत यति चर्चित भयो कि विप्लवलाई धेरैले गीतकार भनेर चिने। ‘मैले कविता लेख्न थालेको १९७७ देखि होला,’ विप्लव भन्छन्, ‘मलाई सधैँ कविका रूपमा परिचित हुन मन थियो। तर यो गीतले बढी गीतकारको रूपमा चिनाइदियो।’
विप्लवका अनुसार उनका अधिकांश प्रेम कविताहरू यथार्थमा आधारित छन्। उनी कुनै थिम बनाएर कविता लेख्दैनन्। आफ्नो भोगाइ नै उनका सिर्जनाका स्रोत हुन्।
प्रेम कविता लेखिरहने विप्लवलाई हामीले सोध्यौँ– ‘फेरि बिहे गर्न मन छैन?’
जवाफमा उनले मुन्टो हल्लाउँदै भने– ‘अहँ, छैन।’
‘अनि प्रेम?’
केहीबेरको मौनतापछि उनले भने, ‘ब्रह्माण्डले जुराएको रहेछ भने के हुन्छ मलाई थाहा छैन, तर मेरो हिसाबले चाहिँ नो। जस्ट नो। आई वान्ट टु डु माइ अदर वर्क्स। दुनिया मे और भी गम है मोहब्बत के सिवा।’
हेर्नुहोस्, विप्लवसँग उनका कविता, गीत र जीन्दगीबारे गरिएको विस्तृत कुराकानी ‘लेट्स टक’:
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया