बागमती प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३को बजेटका विषयमा सांसदहरूले असन्तुष्टी जनाइरहेका छन्। जसको कारण बिहीबारका लागि आह्वान भएको प्रदेश सभा बैठक नै स्थगित भयो।
विपक्षी दलहरूले मात्रै बजेटमाथि विरोध जनाउँथे भने सम्भवतः सरकार पेलेरै अघि बढ्थ्यो। तर सत्तामै रहेका सांसद र मन्त्रीहरूले समेत बजेट निर्माणप्रति असन्तुष्टी जनाएपछि प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई असन्तुष्ट सांसदहरूलाई रिझाएर बजेट पास गर्नुपर्ने चुनौती छ।
बागमतीमा पहिलोपटक नेतृत्व गर्ने अवसर पाएको कांग्रेसलाई बजेट पास गर्न सकस भएको छ।
तत्कालीन मुख्यमन्त्री जम्मकट्टेललाई पनि थियो चुनौती
चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालीन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई पास गर्न कठिन भएपनि वर्तमान सरकारलाई जस्तो सकस भने थिएन। चालु आर्थिक वर्षको बजेट तत्कालीन आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले सदनमा प्रस्तुत गरेका थिए। १ असार २०८१ म थपलियाले सदनमा ६४ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेका थिए।
बजेटमाथिको छलफल असार ७ गतेदेखि प्रारम्भ भएकोमा १४ गते सदनबाट पारित भएको थियो। अघिल्लो दिन अर्थात् असार ६ गतेबाट बजेटको छलफल सुरु हुने भनिएता पनि तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधले एकदिन बैठक स्थगित भएको थियो। त्यसपछि विपक्षी दलसँगको असतुष्टीको खाडल पुरेर बजेटमाथिको छलफलको प्रक्रिया अघि बढेको थियो।
आफ्नै दलमा रहेका सांसद र विपक्षीलाई रिझाउन कति फरक पर्छ भन्ने उदाहरण बनेको छ, चालु आर्थिक वर्षको बजेट र आगामी आर्थिक वर्षको बजेट।
चालु आर्थिक वर्षको बजेटमा विपक्षी कांग्रेस, राप्रपा र नेकपा एसले त्रुटि सच्याउन गरेको मागलाई तत्कालीन सरकारले सहजतापूर्वक लियो र छलफल सुरु भएको हप्तादिनमा बजेट पारित भयो। विपक्षीले उठाएका विषयमा सत्तारुढ माओवादी र एमालेले मिलेर लैजाने सहमती गरेसँगै बजेट पारित भएको थियो।
आफ्नैलाई चित्त बुझाउने प्रयासमा मुख्यमन्त्री लामा
वर्तमान प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सदनमा प्रस्तुत गरिसकेको छ। प्रदेश सभा बैठकबाट घनिभूत छलफल गरेर सदनबाट पास बजेट गर्नुपर्ने चाप सरकारमाथि छ। जसका लागि बिहीबार (हिजो) प्रदेश सभा बैठक आह्वान भएको थियो। तर प्रदेश सभा बैठक सुरु नै हुन पाएन। सदन सुरु नहुनुको कारण थियो आगामी आर्थिक वर्षको बजेट। त्यो पनि सत्ता पक्षकै सांसदहरूलाई चित्त बुझाउन सकस।
बागमतीको बजेट तथा कार्यक्रम सार्वजनिक भएपछि सत्तामै रहेका सांसदहरूमात्रै होइन, मन्त्रीहरूले समेत बजेटमाथि असन्तुष्टि जनाए। आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेकै क्षेत्रमा बजेट खन्याएको आरोप मन्त्रीले नै लगाए। नेपाली कांग्रेसका एक मन्त्रीले आर्थिक मामिला मन्त्री काफ्लेको गृहजिल्ला दोलखामा मात्रै करिब ८ करोड रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पुगेको आंकलन गरिएको बताए।
आरोप लगाए अनुसार नै बजेट किताबका अधिकांश शीर्षक र स्थान हेर्ने हो भने दोलखा नै धेरै देखिन्छ। त्यसपछि मात्रै नुवाकोट, सिन्धुपाल्चोक लगाएतका जिल्लाहरूको नाम देखिन्छ। धादिङ र रसुवाका योजना भने कमै पाइन्छ। हु नत जता मन्त्री उतै बजेट पुग्नु नौलो विषय होइन, यसअघि ल्याइएका ७ वटा बजेट किताबहरूको इतिहास हेर्ने हो भने पनि यसलाई पुष्टी गर्छ।
फरक यति मात्रै हो, उतिबेला विपक्षी दलले मात्रै बजेटमा असन्तुष्टी जनाउँथ्यो भने वर्तमान बजेटमा सत्तापक्षकै असन्तुष्टी पोखियो। कतिपय मन्त्रीहरूले नै बजेटमा सन्तुष्ट हुनसक्ने ठाउँ नरहेको बताउँदै आएका छन्।
योजना कार्यान्वयन देखि रकमान्तरसम्मका विषयमा विवादित बन्दै आएका प्रदेशका अर्थ मन्त्री काफ्ले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा पनि बिबादित बन्न पुगे। रकममा योजना सटनी गरेको, मन्त्रीले योजना मागे त्यसको सट्टामा आफ्नो क्षेत्रमा बजेट हाल्न लगाएको तथा मन्त्रालयहरूले आवश्यक ठानेर पठाएको बजेट तथा कार्यक्रम कटौती गरेको आरोप मन्त्रीहरूको छ। यतिमात्रै होइन, थोरै सिलिङ भएको मन्त्रालयका मन्त्रीले माग गरेको योजनामा कैँची लगाइएको आरोप छ।
बजेट निर्माणका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि असन्तुष्टी व्यक्त गरिरहेको छ। प्रदेशलाई लाभ हुनेखालका कार्यक्रम र बजेट नल्याइएको आरोप प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र अन्य विपक्षी दलहरूको छ।
कांग्रेसको संसदीय दलको बैठकमा सहभागी सांसदहरूले बजेटप्रतिको असन्तुष्टी रोष्टममै प्रस्तुत गर्ने चेतावनी दिएपछि बिहीबारको बैठक स्थगित गरिएको थियो। मुख्यमन्त्री लामाको आग्रहमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सदन स्थगित गरेर सोमबार अर्थात् असार १६ गतेसम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेका थिए। जसअनुार प्रदेश सभा सचिव रामकुमार पौडेलले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सोमबार दिउँसो १ बजे बस्नेगरी सदन स्थगित भएको पत्र प्रदेश सभाको सूचना पाटीमा टाँस गरेका थिए।
यसरी प्रतिपक्षी दलहरूसँगै सत्ता पक्षकै सांसद तथा मन्त्रीहरू असन्तुष्ट भैरहेका बेला बागमती प्रदेश सरकराले ल्याएको बजेट सदनबाट पारित गर्न सकस देखिन्छ। मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थ मन्त्री कुन्दनराज काफ्लेलाई बजेटप्रति असन्तुष्ट रहेका सांसदहरू रिझाएर बजेट पास गर्नुपर्ने चुनौती छ।
Shares

प्रतिक्रिया