कला


प्रेमी बन्न नसकेका दुई साथीको जटिल सम्बन्धको कथा ‘सिक रुम’

प्रेमी बन्न नसकेका दुई साथीको जटिल सम्बन्धको कथा ‘सिक रुम’

लक्ष्मी बलायर
असार २२, २०८२ आइतबार ८:१२, काठमाडौँ

दुई किशोर उमेरका कलिना र दिवसको भेट पहिलोपटक कलेजको नर्सिङ रुममा हुन्छ। पेट दुखेर कलिना बेडमा पल्टिरहेकी छन्। दिवस भने छतबाट साइकल चलाउँदै हाम फाल्दा त्यहाँ पुग्छन्।

त्यही सिक रुममा उनीहरूको पहिलोपल्ट आँखा जुध्छ। र, अनायस भेटिएका दुवै एकअर्काको पीडाबारे सोधीखोजी गर्न थाल्छन्। समस्या फरक भए पनि पीडा समान छ। त्यसैले त एकअर्काका पीडालाई आफ्नैझैँ महसुस गर्छन्।

हुन त त्यो भेट अप्रत्याशित थियो। तर, त्यही भेटले कलिना र दिवसलाई तीन दशकसम्म बारम्बार भेटाइरहन्छ। कहिले शारीरिक चोटमार्फत त कहिले भावनात्मक पीडामार्फत। जसमा भेटिन्छ मित्रता अनि स्वीकार गर्न नसकेको प्रेम।

कथाघेरा थिएटरमा चलिरहेको नाटक ‘सिक रुम’ले तिनै दुई साथी कलिना र दिवसबीचको जटिल सम्बन्धको कथा भन्छ, जुन राजीव जोसेफको नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्जरिज’ को नेपाली रूपान्तर हो।

कलिना र दिवसको फरकफरक दुनियाँ छ। उनीहरूका आ-आफ्नै प्रेमीप्रेमिका छन्। तर, उनीहरूलाई आफ्ना समस्या र पीडा पोख्न भने एकअर्का नै चाहिन्छ। जसको लागि उनीहरू आफूलाई चोट दिइरहन्छन्। र, अस्पताल या सिक रुममा पुगिरहन्छन्। जुन उनीहरूको पीडा पोख्ने सुरक्षित स्थल पनि हो। जहाँ घण्टौँ आफ्नो घाउमाथि गफिन्छन्, पीडा बाँड्छन्। कहिले रिसाउँछन्। अनेक तरहले प्रेम प्रकट गर्छन्। उनीहरूबीचको नोँकझोँक बडो सुन्दर लाग्छ।

कलिना र दिवसको दुई अवस्थालाई देखाउने शैली रोचक लाग्छ। मञ्चमा कहिले उनीहरू किशोर अवतारमा देखिन्छन् त कहिले युवा अवस्थाका। किशोर अवस्थामा जिज्ञासा, नौलो प्रयोग, प्रेम र यौनका कुरा बढी हुन्छन्। तर, युवा छँदा भने जीवन भोगाइ र सम्बन्धका अनुभूतिका कुराहरू बढी समेटिएका छन्। यसरी दुई अवस्थालाई एउटै मञ्चमा प्रस्तुत गरेर निर्देशक आकांक्षा कार्कीले नाटकमा प्राण भरेकी छिन्।

कहिलेकाहीँ जीवनमा यस्तो परिस्थिति आउँछ, जसबाट न पछाडि फर्किन सकिन्छ न अगाडि बढ्न नै। त्यस्तै भएको छ कलिना र दिवसको जीवन पनि। जो अनायासै नजिकिए। तर, उनीहरूको सम्बन्धको कुनै गन्तव्य छैन। त्यो गन्तव्यविहीन सम्बन्धले प्रेमको फरक आयाम महसुस गराउँछ। जुन सम्बन्ध प्रेमी-प्रेमिकाबीचको प्रेमभन्दा पनि माथि लाग्न सक्छ। 

यस नाटकले अहिलेको व्यस्त दुनियाँमा भावनात्मक निकटता र मानवीय संवेदनाको अभावको विषय पनि उठान गर्छ। नाटकभरि दुवैले एकअर्कालाई ‘घाउ दुख्छ?’ भन्दै प्रश्न गर्छन्। पीडामा हुँदा यसरी सोध्नु पनि मलम लगाइदिएजस्तै हुन्छ। यस संवादमार्फत नाटकले दर्शकलाई सोध्छ- कतै आफ्नो नजिकको मान्छेको अवस्थाबारे वास्ता गर्न त बिर्सिरहेका छैनौ?

मञ्चमा नूर खनाल र अभिषेक खड्काले किशोर अवस्थाको जीवन बाँचेका छन्। त्यस्तै, कलाकार आकांक्षा कार्की र सुदाम सिकेलले कलिना र दिवसको युवा जीवन। यी चारैजना पात्रले जीवन्त अभिनय गरेका छन्।

किशोर छँदाको दिवशको चञ्चल, उट्पट्याङ, जिज्ञासु स्वभावमा अभिषेक फिट देखिन्छन्। नूर खनालले पनि कलिनाको पात्रलाई न्याय दिएकी छिन्। नूरका आँखा र ओठले धेरै कुरा बोलिदिन्छ। उनको शारीरिक भांवभंगिमाले किशोरी हुँदा आउने चञ्चलता र संवेदनशीलता देखाउँछ। जसले नाटकमा थप रोमाञ्चकता पैदा गर्छ। सुदाम र आकांक्षाको अभिनय पनि तारिफयोग्य छ।

निर्देशक आकांक्षालाई नाटकमा ठूला मुद्दाभन्दा पनि मानवीय भावना र सम्बन्धका विषय उठाउन मन पर्छ। जसलाई हेर्दा दर्शकहरूले स्टेजमै आफूलाई भेटाऊन्। सोही कारण थिएटरको सातौँ वार्षिकोत्सवको अवसरमा त्यस्तै स्वाद बोक्ने नाटक बनाएको सुनाउँछिन् उनी।

‘अहिले हामी एकदमै व्यस्त भएर वा होडबाजीमा लागेर माया तथा भावनात्मक कुरामा अल्झिन खोज्दैनौँ। त्यो कुराबाट हामी टाढा भाग्छौँ। तर, मलाईचाहिँ भावनाको कुरा गर्नुपर्छ। मित्रता अनि विछोडको कुरा गर्नुपर्छ भन्ने लाग्छ। त्यसले त हाम्रो मन निखारेर ल्याउने हो नि,’ उनले भनिन्, ‘नेपाली अडियन्सले एक किसिमको रअ र नेचुरल किसिमको नाटक हेर्न पाएका छैनन् जस्तो फिल हुन्छ। जे पनि ठूलो कुरा र ठूलो मुद्दा। ड्याङडुङ, लाइट र बाजाहरू प्रयोग हुन्छ। तर, आन्तरिक भावना छुटिरहेको हुन्छ। यसपालिको नाटकचाहिँ अडियन्स नै स्टेजमा भएको जस्तो फिल गराउने नियतले सुरू गरेको हो।’

आकांक्षाका अनुसार नाटक सर्वव्यापी भाषा हो। भावना, मित्रता, प्रेम र विछोड विश्वभरि नै समान हुन्छ। जुन कुनै न कुनै किसिमले सबैले अनुभव गरेकै हुन्छन्। कथाघेराको पहिचानलाई बोक्ने र कम खर्च लाग्ने नाटक खोज्दै जाँदा विदेशी नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्जरिज’ मन परेको उनको भनाइ छ।

भन्छिन्, ‘हाम्रो कथाघेराको जुन पहिचान छ, हाम्रो थिएटरलाई दर्शकहरूले सेफ प्लेस ठान्छन्। घर आएको जस्तो फिल हुन्छ भन्छन्। जहाँ मनको भारी बिसाउन सकिन्छ। खुलेर बाँच्न सकिन्छ। त्यही किसिमको नाटक हुनुपर्छ भन्ने लागिरहेको थियो। जेनेरेटरमा खर्च भएकाले यो वर्ष धेरै खर्च नगर्ने कुरा थियो। धेरै कलाकारलाई राख्न गाह्रो थियो। सानोमा पनि प्रभावकारी कसरी बनाउने भन्दा मैले पढेका धेरै नाटकमध्ये यो सही हुन्छ लाग्यो।’

यस नाटकले आत्मघात र चोटपटकका विषयवस्तु पनि समावेश भएकाले ट्रिगर वार्निङ पनि दिइएको छ। १३ वर्षमाथिकाले मात्र यो नाटक हेर्न पाउँछन्।

‘नाटकमा हात काट्नेदेखि लिएर चोटपटकको कुरा छ। चोटपटक स्टेजमा क्रियटिभली देखाए पनि ब्लड देखिन्छ। साना बच्चालाई त्यो ग्रहण गर्न गाह्रो हुन्छ। १३ पछि मान्छेमा अलिकति इमोसनल इस्युहरू आउँछन्। त्योभन्दा सानोलाई प्रोसेस गर्न गाह्रो हुन्छ कि भन्ने हिसाबले एज लिमिट राखेका हौँ,’ आकांक्षा भन्छिन्।

यो नाटक असार २८ गतेसम्म चल्नेछ। आकांक्षाले नाटकको शीर्षक ‘सिक रुम’ सँग आफ्नो निकटताको प्रसंग पनि खुलाइन्।

‘म काठमाडौँमा हुर्किएको मान्छे। स्कुल पढ्दा त्यहाँ सिक रुम थियो। कति चिज मैले त्यहीँबाट लिएको हो। अनुवाद गर्दा रिसाइट पनि गरेको छु। हामी क्लास बंक गर्नुपर्‍यो भने सिकरुममा जान्थ्यौँ। कतिजना जोडीहरू त्यहाँ डेटिङ गर्न जान्थे। आफ्नो भोगाइबाट पनि लिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad