कला


‘जनै हराएको मान्छे’को पोस्टरमा सम्बन्धमा जेलिएकाको कथा

‘जनै हराएको मान्छे’को पोस्टरमा सम्बन्धमा जेलिएकाको कथा

नेपालखबर
असार २३, २०८२ सोमबार ११:२१, काठमाडौँ

फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौँसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो।

काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो। 

‘देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,’ ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’का निर्माता विमल न्यौपानेले भने।

चलचित्रको पब्लिसिटी केही फरक तरिकाले गर्दा दर्शकको ध्यान खिच्ने अपेक्षाले निर्माण टिमले देशका ठूला सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेको हो। मोफसलका दर्शकलाई पनि सिनेमाबारे जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले जानकारी दिए।

निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको। राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन्।

अर्को पोस्टरमा केकी अधिकारी छिन्। दुईवटै पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ।

एउटा पोस्टरमा छेउछउमा केकी र मिरुना छन्। बीचमा विजय छन्। केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन्। मिरुना बेहुलीको भेषमा छिन्। विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन्।

यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ। मिरुना मंगोलियन फेसमा छिन्। विजय र केकी आर्य। त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ।

अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन्। उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ। 

त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ । यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ।

निर्माणपक्षले यसअघि नै फर्स्ट लुक्स सार्वजनिक गरेको थियो। जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन्।‘ जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ। चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

बलियो लाइनअप देखिएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad