फिल्म निर्माता सुभाष थापा बैंकिङ कसुर मुद्धा (चेक बाउन्स) मा दोषी ठहर भएका छन्। फिल्म ‘प्रसाद’ र ‘प्रसाद २’ का निर्माता थापाले ६२ लाख ५० हजार रुपैयाँ चेक बाउन्स गरेको मुद्दामा दोषी ठहर गरिएको हो।
काठमाडौं जिल्ला अदालतले यसै असार २९ गते फैसलामा थापाले फिल्म निर्माणको नाममा रकम उठाएर चेकमार्फत तिर्न खोजे पनि चेक असफल भएको भन्दै उनलाई दोषी ठहर गरिएको उल्लेख छ।
थापामाथि ‘प्रसाद २’ निर्माणको क्रममा ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको थियो। फिल्म प्रसाद २ का सह/निर्माता केशव पाण्डेले थापालाई उक्त रकम दिएका थिए।
तर, पाण्डेको नाममा निर्माण अनुमति नलिएर फिल्मको छायाँकन पूरा गरेपछि थापाले पैसा फिर्ता गर्न इन्कार गर्दै चेक दिएका थिए। तर, ती चेक बाउन्स भएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीमा परेलगत्तै उनी भागेर अस्ट्रेलिया पुगेका थिए। अदालतले दोषी ठहर गरेपनि थापा अहिले अष्ट्रेलियामा रहेको बताइएको छ।
रिलिजअगावै मुद्धा परेको ‘प्रसाद २’ हलमा लागे पनि बक्सअफिसमा सफल हुन सकेन। साथै कलाकार र प्राविधिकहरुलाई पनि थापाले पारिश्रमिक नदिएको आरोप छ।
Shares

प्रतिक्रिया