गत माघमा गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरिसकेकी छिन। यद्यपि, विभिन्न अन्तर्वार्ता र पडकास्टमा पुगेर श्रीमान्बारे खुलाएपछि एलिना अहिले चर्चामा छिन्। साथै उनले पूर्वपतिबाट हिंसा भोग्नुपरेको खुलासा गरेको भिडिओहरू टिकटक र सामाजिक सञ्जालमा भाइरल छन्।
जसले सामाजिक सञ्जालमा उनका पूर्वपति सापकोटालाई गालीको वर्षा भइरहेको छ। सामाजिक सञ्जालमा व्यापक गाली आएपछि यसबारेमा विष्णुले पहिलोपटक मुख खोलेका छन्। लामो समय मौन बसेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको बताएका हुन्।
सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेको र त्यसले व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको उनको भनाइ छ।
‘अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ’ फेसबुकमा लेखिएको छ, ‘कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु। सम्बन्धमा आएको पीडालाई आत्म-संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।’
प्रतिशोध नभई व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म-सम्मानको संरक्षणका लागि मानहानि तथा व्यवसायिक नोक्सानिको क्षतिपुर्तिसहित कानुनी प्रक्रिया अघि बढाइसकेको समेत उनले उल्लेख गरेका छन्।
यस्तो छ पूरा वक्तव्य
केही समयदेखि सामाजिक सञ्जाल, विशेषगरी टिकटक लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टिकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ। ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु।
हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ। चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो। सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन।
हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिन। दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिंड्नु अदालतको अपमान पनि ठहर छ।
सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो। सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ।
आत्मोपचार गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ। मैले के के भोगें, कुन अवस्थाबाट गुजें, र आफूलाई कसरी हिल गरें त्यो मलाई मात्र थाहा छ। बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ। अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ।
कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु। सम्बन्धमा आएको पीडालाई आत्म-संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।
प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
म स्पष्ट रूपमा भन्न चाहन्छु अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन्। प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म-सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानि तथा ब्यावसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु। कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो।
मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ। अहिले दुबैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ। कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी?
अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनु भएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, तपाईंहरू सबैलाई अनुरोध गर्दछु कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् । म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदैछु।
Shares

प्रतिक्रिया