करिब एक वर्षको अन्तरालपछि अभिनेत्री बेनिशा हमाल पर्दामा देखिँदैछिन्। तर, विडम्बना उनी एकैपटक दुई फरक डुङ्गामा सवार गर्न बाध्य छिन्। कारण, उनी अभिनीत दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’ एकैपटक साउन २३ मा रिलिज हुँदैछन्।
आफ्नै फिल्म एकआपसमा जुध्दाखेरि उनको मन अमिलो भएको छ। यस्तो हुन नदिन दुवै फिल्मका निर्मातालाई आग्रह नगरेकी पनि होइनन्। तर, केही नलागेपछि अहिले उनलाई दुवै फिल्मको प्रचारप्रसारमा दौडिन भ्याइनभ्याइ छ।
कुनै पनि कलाकारको लागि आफ्नो सिर्जना दर्शकमाझ पुग्नु उत्सव हो। तर, बेनिशाका लागि एकैदिन दुई परीक्षा दिएजस्तै अनुभव भइरहेको छ।
‘एकैदिन दुइटै फिल्म रिलिज नभइदिएको भए हुन्थ्यो जस्तो लाग्छ,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेकी उनले भनिन्, ‘यता जाने कि उता जाने? यता धेरै टाइम दियो भने उताको मेकर रिसाउनुहुन्छ, उता धेरै टाइम दियो भने यताको रिसाउनुहुन्छ। त्यसैले मैले एक दिन पनि फुर्सद पाएको छैन।’
जुम्लेलीलाई जीवनजल नै गुन हजुर
रोल्पालीलाई सिटामोल नै सुन हजुर...
कलाकार रामहरि खड्काले आवाज भरेको यो ‘सिटामोल’ फिल्मको चर्चित संवाद हो। यो फिल्मले पश्चिम नेपालको सामाजिक यथार्थको कथा भन्छ। अर्कोतर्फ ‘मोहर’ फरक विषय र शैलीको चलचित्र भएको र दुवैमा आफ्नो भूमिका बिल्कुलै फरक रहेको बेनिशा बताउँछिन्। रिलिजको संघारमा बेनिशाको मुटु उत्साहसँगै डरले धड्किरहेको पनि छ।
‘एउटा कलाकारलाई दुवै फिल्म सफल भइदिए हुन्थ्यो भन्ने त लाग्छ नै, हेरौँ अब के हुन्छ,’ उनी भन्छिन्।

चितवन घर भएकी बेनिशाले १४ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गरिन्। म्युजिक भिडियो पनि गरिरहेकी थिइन्। तर, मीन भामको ‘कालोपोथी’ फिल्म नगर्दासम्म उनी अभिनयप्रति गम्भीर र समर्पित भने थिइनन्। यो त केवल ‘पकेट मनी’ को माध्यम मात्रै बनिरहेको थियो। तर, मुगुको विकट भूगोलमा खिचिएको फिल्म ‘कालोपोथी’ उनको जीवनकै टर्निङ प्वइन्ट बनिदियो।
‘सिनेमा भनेको यत्तिकै ख्याख्यालमा गर्ने चिज त होइन रहेछ,’ बेनिशाले आफ्नो करिअर परिवर्तन गरेको सिनेमाबारे भनिन्, ‘त्यो फिल्मको सुटिङताका ठूलो टिमका सदस्यहरू सिरियसली लाग्नुभएको थियो। एउटा सिर्जना गर्न कतिसम्म मिहेनत हुने रहेछ भन्ने महसुस गरेपछि अब म साँच्चिकै अभिनेत्री हुनुपर्छ भन्ने लागेको हो। त्यो चलचित्रले मलाई अभिनयको गहिराइ मात्र सिकाएन, जीवनको यथार्थसँग पनि साक्षात्कार गरायो। आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित मानिसहरूको कथाले भित्रैदेखि छोयो र एउटा कलाकारको सामाजिक दायित्वबोध गरायो।’

त्यसपछि हो, बेनिशाले काठमाडौँ फर्केर अभिनयको औपचारिक ज्ञान लिन थालेको। यो ग्ल्यामर दुनियाँ यस्तै हो, कहिले सफल भइन्छ, कहिले असफल। कहिल्यै माथि पुगिन्छ, कहिले तल झरिन्छ। यो यथार्थलाई बुझेकी बेनिशाले एउटा बलियो दर्शन फेला पारेकी छन्– भागवत् गीता। कुनै समय परिणामको धेरै चिन्ता गर्ने उनी अहिले कर्ममा विश्वास गर्छिन्।
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।’ स्टुडियोमा गीताको यो श्लोक वाचनपछि बेनिशाले भनिन्, ‘यो भनेको तिमीलाई निर्धारित कर्म गर्ने अधिकार छ, तर कर्मको फल पाउने–नपाउने त्यो तिम्रो अधीनमा छैन। त्यसैले कर्म गर्न नछोड, तर फलको कारण पनि आफूलाई कहिल्यै नसोच। अचेल मलाई पनि त्यस्तै लाग्छ।’
लामो समयको अभिनय यात्रामा बेनिशाले अनेक अविस्मरणीय क्षणहरू सँगालेकी छन्। ‘सिटामोल’मा सौगात मल्लसँग स्क्रिन गरेकी उनी ‘झ्यानाकुटी’मा पनि उनकै जोडी थिइन्। दुवै फिल्ममा बेनिशा–सौगात दम्पती बन्दा यसले पछिल्लो ‘सिटामोल’को सुटिङमा थोरै असहज पनि बनायो।
‘कहिलेकाहीँ पुरानो पात्रको झल्को आउँदो रहेछ, त्यहीकारण रिटेक पनि गर्नुपर्यो,’ उनले भनिन्।
तर, बेनिशालाई जीवनमा सबैभन्दा ठूलो चोटचाहिँ आफ्ना दुई हजुरआमाको निधनमा अन्तिमपटक भेट्न नपाउँदा भएको रहेछ। एउटा सुटिङको व्यस्तता र अर्को परिस्थितिको बाध्यताले उनलाई त्यो अवसरबाट वञ्चित गरायो।
‘त्यो कुराले मलाई अहिले पनि नराम्रो लाग्छ,’ उनी भावुक हुन्छिन्।

बेनिशा पर्दामा पटकपटक बेहुली बनेकी छन्। कतिपय फिल्ममा त सन्तानको आमासम्म भइसकिन्। तर, रियल लाइफमा अहिलेसम्म सिंगल नै छिन्। हामीले सोध्यौँ– अब त रिलमा मात्रै होइन, रियलमै बिहे गर्ने बेला भएन र?
जवाफमा उनले आफू बिहेका लागि तयार भएको तर खोजेजस्तो केटा नभेटेको संकेत गरिन्।
‘म रेडी त रेडी हो तर एट द सेम टाइम जीवन बिताउने कुरा हो नि त,’ उनले भनिन्, ‘पर्फेक्ट मान्छे भनेर पर्फेक्ट नै भेट्टाइँदैन। तर यो मान्छेसँग चाहिँ जीवन काट्न सकिन्छ भन्ने खालको मान्छे भेट्टाएपछि त म बिहे गरिहाल्ने हो। अहिलेसम्म खोजेजस्तो मान्छे भेटेको छैन।’
हामीले उनलाई फेरि सोध्यौँ– ‘के तपाईंले जीवनमा कहिल्यै कसैलाई आफूभन्दा धेरै माया गर्नुभयो, जुन पछि तपाईंकै लागि चोट बन्यो?’
जवाफमा उनले भनिन्, ‘सायद कुनै–कुनै समयमा आफ्नो अस्तित्व नै बिर्सिने गरेर, आफ्नो अस्तित्व पनि महत्त्वपूर्ण छ, आफ्नो आत्मसम्मान पनि महत्वपूर्ण छ भन्ने कुरा बिर्सेर माया गरेको हुँला। त्यसलाई अब चोट बन्यो भन्नुभन्दा पनि अनुभव भन्नुपर्ला।’
हेर्नुहोस् बेनिशासँगको ‘लेट्स टक’ :
फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया