अभिनेत्री रेखा थापा फिल्मबाहेक खासै म्युजिक भिडिओमा देखिनन्। अरू समकालीन तथा अग्रज अभिनेत्रीहरूले थुप्रै म्युजिक भिडिओ खेलिसकेका छन्। तर, थापाले भने आफ्नो झन्डै २५ वर्ष लामो करिअररमा एउटामात्र म्युजिक भिडिओ खेलिन्।
करियरमा संघर्षरत हुँदा उनले गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहुँ’ काम गरेकी थिइन्। त्यसपछि थुप्रै प्रस्ताव आए पनि कुनै म्युजिक भिडिओ नखेलेकी रेखाले धेरैपछी म्युजिक भिडिओमा खेलेकी छन्।
उनी दोस्रोपटक प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’ बोलको तीज गीतको भिडिओमा देखिएकी हुन्। प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको यो म्युजिक भिडिओ साउन १६ गते सार्वजनिक हुँदै छ।

प्रकाश सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्युजिक भिडिओमा देखिन तयार सुनाउँछिन् रेखा।
‘नाइँ भनेसि नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ। विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैँ नै उभिँदै आएकी छु। त्यसका विविध मञ्च तपाईंहरूले देख्दै आउनुभएको छ। यसपटक यो संगीतको मञ्च मलाई उपयुक्त लाग्यो। यतिबेला म नारी मात्र नभएर एउटी छोरीकी आमासमेत भएकाले यो विषयमा मैले खेले,’उनले भनिन्।
गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गत वर्ष ‘बसन्त’ रिलिज भएको थियो। गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए।
रेखाले म्युजिक भिडिओ नगर्ने सुनेको भए पनि विषयवस्तुका कारण थापाले स्वीकार्ने गर्नेमा विश्वस्त रहेको सुनाउँछन् उनी।
‘दिदीलाई जुन विषय छानिएको छ, त्यसले धेरै छोयो। उहाँसँग जब मैले विषयको कुरा गरें, उहाँले यसमा फिल्म बनाउन सकिंदैन? भनेर सोध्नुभएको थियो। अहिले फिल्म बनाउनचाहिँ अलि तयारी छैन, भिडिओमार्फत भनौं, अझ धेरै ठाउँमा पुग्छू भनेपछि दिदी खेल्न तयार हुनुभयो।’
प्रकाशले यो ‘नो मिन्स नो’ गीतका लागि ५/७ वटा मेलेडी बनाएको जानकारी दिए। गीतमा एलिना चौहान तथा समीक्षा अधिकारीले स्वर दिएका छन्। गीतमा उनलाई मनपर्ने चार लाइन यस्ता छन्:
म त सुन्दरी परीजस्ती हुँ,
म त स्वतन्त्र चरीजस्ती हुँ
चरीलाई जेलैमा थुन्न नखोज
खेलौना ठानेर चुम्न नखोज।
यी लाइनसहित गीत दर्शकस्रोताले मन पराउनेमा ढुक्क छन्- प्रकाश।
Shares

प्रतिक्रिया