अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले एक सातामा भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो।
आजबाट यो दोस्रो सातामा प्रवेश गरिसकेको छ। विश्वभर भने यस फिल्मले २५० करोड भारु कमाइसकेको छ।
गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१.५ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २६ करोड कमाउँदा आइतबार भने ३५.७५ करोड कमाएको थियो।
त्यस्तै, सोमबार २४ करोड कमाउँदा मंगलबार भने २५ करोड कलेक्सन गर्यो। बुधबारको २१.५ करोड कलेक्सन गर्दा बिहिबार फिल्मले १९ करोड भारु कमाएको छ।
४५ करोड बजेटमा निर्माण भएको यो फिल्म सन् २०२५ मा उत्कृष्ट फिल्म मात्रै बनेन्। नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो। यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्।
प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न,’ ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्। सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनीतले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्।
अहान र अनीतको अभिनयको पनि निकै तारिफ भइरहेको छ। म्युजिक प्रेमकथामा आधारित यस फिल्मले विश्वभर पनि राम्रो कमाइ गरिरहेको छ।
Shares

प्रतिक्रिया