कला


माग्ने बुढादेखि माग्ने राजासम्म : पहिले गाउँको गरिब थिएँ, अहिले सहरको गरिब छु (भिडिओ)

गाडीबाट ओर्लेर लगनखेलको फुटपाथ ढोग्छन्, जहाँ उनी कस्मेटिक्स बेच्ने गर्थे

अनिल यादव
साउन ९ , काठमाडौँ

केदार घिमिरे बच्चैदेखि अलि ‘हेपिएका पात्र’ थिए। शारीरिक हिसाबले स्कुलका साथीहरूभन्दा अलि निर्बल, अलि दुब्लो। परम्परागत सौन्दर्य मानकभित्र पनि नअटाउने। साथीहरू फुटबल खेल्दा उनी मैदानबाहिरै हुन्थे। जब बल आउट जान्थ्यो, त्यसपछि मात्रै छुन पाउँथे। कसैको लभ पर्‍यो भने चिठी ल्याइदिने–पुर्‍याइदिने मान्छे। सिनेमाको हिरो बन्छु, हिरोइनसँग स्क्रिन सेयर गर्छु, उनको कल्पनाको दुनियाँमा यी सपनाहरू अटाउँथेनन्।  

‘म सानैदेखि लुते–ल्यांग्रे थिएँ। अनुहार पनि नपरेको। सबैले हेप्थे। बल आउट भएपछि टिप्न जाने मान्छे। फिल्ममा लिड रोल खेल्छु, हिरो बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ,’ नेपालखबर सो ‘लेट्स टक’मा उनले भने। 

नेपाली कला जगत्मा निकै चर्चित र प्रिय बनेको पात्र हो– माग्ने बुढो। गरिबीको रेखामुनि रहेका बहुसंख्यक मान्छेहरूको प्रतिनिधित्व गर्ने यो पात्र यति प्रिय बन्यो कि मान्छेहरूले उनको असली नाम केदार घिमिरे नै भुले। दौरा–सुरुवाल, भादगाउँले टोपी, कालो बनाइएको एउटा दाँत बोकेर गरिबीको पीडालाई हाँसोमा बदल्ने टेलिसिरियल ‘मेरी बास्सै’को यो पात्रलाई केदारलाई घर–घर मा चिनायो। 

तर, केदार जीवनभर एउटै पात्रको ब्याज खाएर बाँचिरहन चाहँदैनन्। अब उनी ‘माग्ने बुढो’बाट ‘माग्ने राजा’ बनेका छन्। यो भदौ ६ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको नाम पनि हो। जसको लिड रोलमा छन् उनी। फिल्मका प्रचार सामग्री हेर्दा यहाँ उनी गरिबीको रेखामुनि जीन्दगी बाँचिरहेका छैनन्, विलासी भूमिकामा धनाढ्य जीन्दगी बाँचिरहेका छन्। हेलिकोप्टरमा उडिरहेका छन्, स्विमिङ पुलमा मस्ती गरिरहेका छन्। अनि बिटाका बिटा पैसामै सुतिरहेका छन्, पैसामै उठिरहेका छन्। 

‘म त एउटा सामान्य कलाकार बन्न हिँडेको मान्छे। एक–दुई डाइलग खेल्न पाए टीभीमा आइन्थ्यो, गाउँतिर देख्थे भन्ने लाग्थ्यो। अनि मान्छेहरूले ‘ए फलानोको छोरो’ साह्रै दुःख पाएको थियो, त्यो टीभीमा आउन थालेछ भन्छन् भन्ने एउटा आश थियो। तर अब मुख्य भूमिका नै खेल्न पाइएला भन्ने सोचेको थिइनँ,’ केदारले फेरि थपे। 

केदारका अनुसार ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मले एउटा साधारण मानिस कसरी असाधारण परिस्थितिमा पुग्छ भनेर देखाउन खोजेको छ। 

केदारको सफलताको कथा जति चम्किलो छ, त्यसको जग त्यति नै संघर्षपूर्ण छ। काठमाडौँमा बाँच्नका लागि उनले अनेक संघर्ष गरे। कहिले टेम्पो चलाए, कहिले फुटपाथमा कस्मेटिक सामान बेचे त कहिले कलंकीमा क्यासेट पसल। तर, कहीँ पनि टिक्न सकेनन्, सधैँ लखेटिए मात्र। त्यसैले उनी बेलाबेला भन्ने गर्छन्, ‘मलाई सरकारले लखेटी लखेटी कलाकार बनायो।’

रियल लाइफमा मात्रै होइन, त्यसपछि रिल लाइफमा पनि उनले गरिबी बाँचे। 

उनी भन्छन्, ‘माग्ने बुढो कुनै काल्पनिक पात्र थिएन, त्यो आफैले जीवनमा भोगेको पात्रको अभिनय थियो। मैले भोगेको कुरा गरेको हो नि त त्यो। ‘माग्ने बुढो’ पिँढीमा यसरी बस्छ, तिर्खा लागेको बेला यसरी ठाडो घाँटी लाएर कलकल अम्खोराले पानी खान्छ, मल यसरी बोक्छ, बारीमा यसरी दौडिन्छ, रुख यसरी चढ्छ लगायत जे जे गर्‍यो, ती मेरै अनुभवहरू त थिए नि।’

उनले कहिल्यै नभुल्ने ठाउँ, लगनखेलको त्यही फुटपाथ हो, जहाँबाट उनले आफ्नो संघर्ष सुरु गरेका थिए। आज पनि गाडीमा त्यो बाटो हिँड्दा उनी त्यस ठाउँलाई मन्दिर जत्तिकै श्रद्धा गर्छन्। 

उनी भन्छन्, ‘हरेक व्यक्तिको जिन्दगीको पछाडि केही न केही दुःख, हन्डर चाहिँ हुने नै रहेछ। भलै मैले पाएको दुःखको तह र तरिका फरक होला। मैले पाएको दुःख मेरो तरिकाले मैले भनेँ होला। अब त्यो बेलामा म त्यहीँको गरिब थिएँ, गाउँको गरिब थिएँ। अब अहिले लाग्छ, म सहरको गरिब छु।’

धेरैलाई थाहा नहुनसक्छ, केदार यतिखेर चिनियाँ र स्पेनिस भाषा सिकिरहेका छन्। चिनियाँ त फरर बोल्न नै थालिसके। त्यो पनि कुनै भाषा सेन्टरमा गएर होइन, आफै मोबाइलमा सिकेर। यो डिजिटलमा युगमा धेरै मानिसहरूजस्तै केदार पनि कुनै बेला मोबाइलको लतमा फसेका थिए। त्यही लतबाट बाहिर निस्किन आफूले भाषा सिकेको उनी बताउँछन्। 

‘यो लतलाई चाहिँ अब शक्तिमा परिणत गर्नुपर्‍यो भन्ने मेरो मनमा आयो,’ उनले भने, ‘समय खेर नफालौँ भनेर कठिन मानिने चिनियाँ भाषा सिकेको हुँ। अब स्पेनिस पनि सिक्न सुरु गरेको छु।’

यतिमात्रै होइन आफ्नो सिकाइलाई उनले नेपालको पर्यटन प्रव्द्धनमा प्रयोग गरिरहेका छन्। उनी अचेल नेपालका पर्यटकीय स्थलहरूमा गएर चिनियाँ भाषामा भिडिओ बनाउँछन् र सामाजिक सञ्जालमा राख्छन् ताकि चिनियाँ पर्यटकहरूलाई नेपालबारे जानकारी मिलोस्। 

‘आउनुस्, यो हाम्रो देशको यस्तो–यस्तो ठाउँ हो, यो एउटा स्वर्गको टुक्रा हो,’ उनी चिनियाँ भाषामा भन्ने गर्छन्। 

आज केदार नेपालको महँगो कलाकारको सूचीमा पर्छन्। तर उनको अन्तिम माग पैसा वा प्रसिद्धि होइन। 

भन्छन्, ‘जीवनमा अन्तिम माग भनेको सबैलाई राम्रो होस्। सबैको राम्रो देखिन पाइयोस्। सबैले सबैलाई सकारात्मक देख्न पाए हुन्थ्यो, अरूले पनि सकारात्मक देखून् मलाई, मैले पनि सकारात्मक देख्न पाऊँ। कसैलाई केही सहयोग गर्न पाइयोस्। भलैभलो होस्। राम्रैराम्रो होस्।’

उनले अरु के-के भने त? हेर्नुहोस् नेपालखबर ‘लेट्स टक’ :

साउन ९, २०८२ शुक्रबार २१:३३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad