कला


जब प्रचण्डले माधव नेपाललाई साथमै राखेर राष्ट्रिय नाचघरमा ४ घण्टा बिताए (तस्बिरहरू)

जब प्रचण्डले माधव नेपाललाई साथमै राखेर राष्ट्रिय नाचघरमा ४ घण्टा बिताए (तस्बिरहरू)

जनार्दन पोखरेल
साउन १०, २०८२ शनिबार १७:१७, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) निकै व्यस्त नेतामा पर्छन्। सरकारको नेतृत्व गर्दा होस् वा अहिले संसद्को प्रमुख प्रतिपक्षी दलको नेताकै रुपमा किन नहोस्, उनको दौडधुप निरन्तर छ। उनलाई सधैँ भ्यानभ्याइ भैरहेको देखिन्छ।  

तर, तिनै प्रचण्ड शुक्रबार निकै फुर्सदिला देखिन्थे। हिजो उनले आफ्नो चारघण्टा समय प्रगतिशील गीत, संगीत, नृत्य र नाटक हेरेर बिताए।

आफैँ अगुवा भएर सञ्चालन गरेको जनयुद्धले निमुखा जनतामा बाँडेको सपना र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको वर्तमान तन्नम अवस्थाको चित्रण उनले कलाकारका जीवन्त प्रस्तुतिमा हेरे।

प्रगतिशील कलाकारका जनवादी गीत, संगित, नृत्य र नाटकसहितका प्रस्तुतिले मनछुँदा धेरैपटक उनले तालि बजाए, कतिपय बेला भावुक भए। 

प्रचण्डलाई साथ दिन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेता पनि कार्यक्रममा सँगै थिए। 

उनीहरुसँगै थिए माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र गिरीराजमणि पोखरेल, सचिव लीलामणि पोख्रेल, नेताहरु देवेन्द्र पौडेल, प्रल्हाद बुढाथोकी, शशि श्रेष्ठ, सीता पोखरेललगायतका नेता, कार्यकर्ता। उनीहरुसँगै दर्शक बनेका थिए-चीनका लागि पूर्व नेपाली राजदूत डा.महेश मास्के र पूर्वसभामुख ओमसरी घर्ती  पनि। 

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले शुक्रबार राष्ट्रिय नाचघर जमलमा जनसांगितिक कार्यक्रम आयोजना गरेको थियो। 

प्रचण्ड आफैँ नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संरक्षकसमेत हुन्। 

‘आयोजक संस्थाको म आफैँ संरक्षक भएकाले कार्यक्रमको प्रशंसा गर्नु स्वाभाविक नलाग्न सक्छ,’ कार्यक्रम हेरिसकेपछि प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै प्रचण्डले भने, ‘तर, आजको कार्यक्रम साच्चै अर्थपूर्ण लाग्यो। आफ्नो कलामार्फत अर्थपूर्ण र सन्देशमूलक प्रस्तुति दिने सम्पूर्ण कलाकारलाई बधाईसहित सम्मान व्यक्त गर्दछु।’

त्यसअवसरमा पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री, सांसद्सहितका दर्शकले खचाखच भरिएको नाचघरमा चार घण्टासम्म कलाकारले नेताहरुलाई आफ्ना दमदार प्रस्तुतिमार्फत खबरदारी गरे। मुलुकमा बढ्दै गएको राजनीति विकृतिप्रति व्यंग्य गरे । नेताहरुलाई सच्चिन आग्रह गरे। 

जनकलाकार संघ, इन्द्रेणी सांस्कृतिक समाज, साधन कलाकेन्द्र, म्युजिक एकेडेमी लगायतका संस्थाको त्यो समग्र प्रस्तुतिको संयोजन गरेका थिए- कलाकर्मीसमेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बलंपाकीले। 

कार्यक्रमका अधिकांश प्रस्तुति कर्माचार्यको जीवनीसँग सम्बन्धित थिए। उनको वैचारिक निष्ठा, सरलता, त्याग र समर्पण कलाकारका प्रस्तुतिमा झल्किन्थे। 

कार्यक्रममा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ बोलको बहुचर्चित गीतका लेखक श्याम तमोट, गायक रायन, अर्का जनगायक जीवन शर्मा, जनसंगितकर्मी रामकृष्ण दुवाल, प्रगतिशील साहित्यकार शरदचन्द्र पौडेल, खप्तड सांस्कृति परिवारका संस्थापक नरेन्द्रराज रेग्मी लगायतलाई सम्मान गरिएको थियो। 

त्यसैगरि कवि तथा पत्रकार कृष्ण सेन इच्छुक, जनगायक जेबी टुहुरे, हरिकृष्ण दर्शनधारी, खुसीराम पाख्रिन लगायतका जनगायक तथा गीतसंगीतकर्मीलाई पनि  कार्यक्रममा मरणोपरान्त सम्मान गरियो। 

जनकलाकार संघका केन्द्रीय अध्यक्ष शान्ति कठायत, कलाकारहरु मिलन भक्त, दिनेश पाख्रिन, रेखा भण्डारी, प्रदीप बम्जन, हिसन समाल, केशव चालिसे, कुस्मिता दर्लामी, केशरी घर्ती मगर, शारदा लिम्बु, देवी बस्नेत, रानीशोभा महर्जन, कर्ण लिम्बू, ईश्वर कर्माचार्य, गोपाल थापा, वीरप्रसाद अन्सारी लगायतले कार्यक्रममा जीवन्त प्रस्तुति दिए। 

जनगायक जीवन शर्माले ‘कालो धन थुपारेर’ बोलको गीत गाउँदा दर्शक दीर्घाबाट तालिको फोहरा छुट्यो। ‘आशाको उज्यालो नाटक’ हेर्दा दर्शकका आँखा रसाए। 

प्रचण्डले सम्झिए जनयुद्धमा जानुअघि कर्माचार्यको अभिभावकत्व

कार्यक्रमको अन्त्यमा मन्तव्य दिने क्रममा प्रचण्डले नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको मुक्त कण्ठले प्रशंसा गरे।

उनले ०४६ को आन्दोलनलगत्तै माओवाद वा विचार मान्ने कम्युनिस्ट शक्तिहरु एकतावद्ध भएर बनेको नेकपा एकताकेन्द्र निर्माण गर्दाको समय स्मरण गरे। कर्माचार्य अध्यक्ष र आफू महासचिव भएर केही वर्ष पार्टी सञ्चालन  गरेको सम्झिए।

‘त्यतिबेला उहाँलाई मैले असाध्यै सरल, इमानदार, निष्ठावान, क्रान्तिकारी विचारप्रति अविचतिल रुपमा अघि बढ्ने योद्धा, अभिभावकको रुपमा पाएँ,’ प्रचण्डले भने, ‘तर केही कार्यनैतिक विमतीको कारणले जनयुद्ध सुरु गरेपछि केही समय हामी विभाजित हुने अवस्था आयो।’

जनयुद्ध सुरु गर्नुअघि प्रचण्डले कर्माचार्यको संरक्षणमा आफू ६ वर्ष ललितपुरको कुम्भेश्वरमा बसेको स्मण गरे। 

‘त्यतिबेला मेरो अभिभावक नै उहाँ हुनुहुन्थ्यो, सबै सुखदुःख, आन्दोनलको घटनाक्रम, राजनीतिक उतारचढावहरुका विषयमा उहाँसँग अन्तरंग हुने अवसर त्यतिबेलै मिल्यो,’ उनले भने। 

जनयुद्धको सुरु र अन्तिम तयारी सबै काम कुम्भेश्वरको कोठामै बसेर कर्माचार्यको उत्प्रेरणामा गरेको पनि प्रचण्डले बताए।

कर्माचार्यले त्यतिबेला ‘तिमीले जनयुद्धको नेतृत्व गर्ने हो त?’ भनेर सोध्ने गरेको र ‘म गर्छु’ भन्दा ‘लु गर’ भन्दै उत्प्रेरित गर्ने गरेको पनि बताए। ‘जनयुद्ध अघि र पछि पनि उहाँ मेरो लागि साँच्चैको अभिभावक, उत्प्रेरक हुनुहुन्थ्यो। म जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुरा उहाँलाई सुनाउँथे। यसरी हामी अघि बढ्दैछौँ। हामी नेपालमा सशस्त्र जनयुद्ध सुरु गर्दैछौँ भन्थेँ। मैले त्यसो भन्दा उहाँ निकै उत्साहित हुनुहुन्थ्यो,’ प्रचण्डले भने। 

‘हामी जनयुद्धमै हुँदा कतिपय सञ्चार माध्यमले कर्माचार्यलाई ‘तपाईंलाई मनपर्ने नेता को हो? भनेर सोध्दा कर्माचार्य मेरो र क.नारायणकाजीको नाम लिनुहुन्थ्यो,’ प्रचण्डले विगत सम्झिए, ‘त्यति महान् व्यक्तिले मलाई त्यो स्तरको सम्मान गरिदिँदा जनयुद्धलाई स्थापित गर्न पनि ठूलो सहयोग पुग्यो। उहाँ मेरो लागि जीवनभर ठूलो उत्प्रेरक र अभिभावकको रुपमा रहनुभयो। नेपाली कम्युनिस्ट आन्दोलनको अभिभावक, आदरणीय पात्र, कसैले आरोप लगाउन नसक्ने निस्कलंकित नेताको रुपमा रहनुभयो।’ 

उनले जनयुद्धपछि माओवादी र एकताकेन्द्र फेरि एकतावद्ध हुँदा कर्माचार्य साह्रै खुसी भएको आफूले पाएको बताए। 

‘मान्छेहरुमा विरलै हुने व्यक्तित्व उहाँमा थियो,’ प्रचण्डले भने, ‘भर्खरको युवादेखि जीवनको त्यति लामो कालखण्डसम्म पार्टी, क्रान्ति, वर्ग र आन्दोलनप्रति निरन्तर लागिरहन सक्नु सहज कुरा होइन।’

कार्यक्रममा कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरीराजमणि पोखरेलले कर्माचार्यको जीवनीमाथि प्रकाश पारे। राणा शासनको अत्याचार देखेर कर्माचार्य कम्युनिस्ट बनेको बताए। 

‘१९९७ सालमा कर्माचार्य १६ वर्षको हुँदा राणाहरुले चारजना सहीदलाई फाँसी दिएका थिए,’ पोखरेलले भने, ‘धर्मभक्तलाई दिएको फाँसी प्रत्यक्षरुपमा देखेपछि कर्माचार्य १७ वर्षको उमेरमै राणा शासन विरोधी संघर्षमा लाग्नु भएको थियो।’ 

धर्मभक्तलाई मृत्यु दण्ड दिएको देखेका र दाहसंस्कारमा पनि सहभागी भएका कर्माचार्य १९९८ सालमा प्रजातन्त्र संघमा आवद्धको भएको इतिसको चर्चा उनले गरे।

‘त्यतिबेला प्रजातन्त्र संघ भूमिगत थियो। आफैँले आफ्नो तिघ्रा चिरेर रगतको ल्याप्चे लगाउने प्रावधान थियो। कर्माचार्य त्यसै गरेर प्रजातन्त्र संघमा आवद्ध हुनु भएको थियो,’ पोखरेलले भने।

प्रजातन्त्र संघमा आवद्ध भएपछि कर्माचार्य राष्ट्रिय  कांग्रेसमा आवद्ध भए। त्यतिबेला नेपाली कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच विवाद थियो। उनले त्यो विवाद मिलाउन खोजे। ‘तर, नेपाली समाजको आमूल परिवर्तनको लागि कम्युनिस्ट पार्टी नै चाहिन्छ भन्ने निष्कर्षसहित २००६ सालमा उहाँले पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैध र नारायण विलास जोशीसँग मिलेर नेकपाको स्थापना गर्नुभयो,’ पोखरेलले भने। 

त्यतिबेला पार्टीको वैचारिक नेता पुष्पलाल थिए। कर्माचार्य संगठन निर्माण, जनसम्पर्क र मुख्यरुपमा मजदुर फाँटमा क्रियाशील भए। विराटनगर गएर उनले रघुपति जुट मिलमा ‘स्टोर किपर’को रुपमा पनि काम गरे। 

पोखरेलकाअनुसार कर्माचार्य लतिलपुरको प्रथम मेयर पनि भएका थिए।

त्यतिबेला स्थानीय तहको निर्वाचनमा चुनियका वडाध्यक्षहरूले नै  मेयर छान्थे। उनीहरूले नै मतदान गरेर कर्माचार्यलाई मेयरमा निर्वाचित गरेका थिए। 

कर्माचारको जीवन व्यवहारका संघर्षहरूलाई नयाँ पुस्तामा पुर्याउन प्रतिष्ठानको स्थापना गरिएको पोखरेलले बताए। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्ष रहेको प्रतिष्ठानले हाल देशमा केही शिक्षालयहरूसमेत सञ्चालन गर्दै आएको छ। 

हेर्नुहोस् थप तस्बिर 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad