सामाजिक-राजनीतिक थ्रिलर ‘राजागञ्ज: पूजा, सर’ फ्रान्सका ६२ हलहरुमा एकसाथ रिलिज भएको छ।
चर्चित निर्देशक दीपक रौनियारको फिल्मले पाएको यो सफलतालाई नेपाली सिनेमा इतिहासमा अभूतपूर्व अवसर मानिएको छ।
फ्रान्सेली वितरण कम्पनीकी मिशेल हैल्बरस्टैडले फिल्म प्रदर्शन गर्न पाउँदा खुशी भएको बताइन्। ‘‘राजागञ्ज: पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ,’ उनको भनाइ छ, ‘यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ। हामी फ्रान्सका दर्शकहरूलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुशी छौं।’
फिल्मको वर्ल्ड प्रिमियर २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो। त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवहरूमा प्रदर्शन भइसकेको छ।
फिल्ममा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, बिजय बराल, आरती मंडल, रिचा शर्मा, गौमाया गुरुङ र घनश्याम मिश्र लगायत कलाकारको अभिनय रहेको छ।
फिल्म आदि फिल्म्स, बाँसुरी फिल्म्स र ट्यानहाउसर गेटको सहकार्यमा निर्माण भएको हो। यसले जातीय विभेद, लैंगिक दूरी र एलजीबटीक्यू प्लस पहिचानजस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरूलाई उठाएको छ।
फिल्मको ‘ब्याकग्राउन्ड म्युजिक’ हालै सार्वजनिक गरिएको र यो युट्युब, अमेजन प्राइम, स्पोटीफाइ लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको बताइएको छ।
Shares

प्रतिक्रिया