कला


पहिलोपल्ट पलेँटीमा गुञ्जिए बज्राचार्य

पहिलोपल्ट पलेँटीमा गुञ्जिए बज्राचार्य

नेपालखबर
साउन ११, २०८२ आइतबार १६:६, काठमाडौँ

शुक्रबार र शनिबार नेपालयको सांगीतिक कार्यक्रम पलेँटीमा चर्चित संगीतकार न्ह्यू बज्राचार्य गुञ्जिएका छन्। नेपालयको आरशालामा भएको कार्यक्रममा न्ह्यूले संगित दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।

झण्डै २ घण्टासम्म चलेको पलेँटीमा गितार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको पहिले गीत सुनाउदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए। लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा छुट्टै खुसी छाएको थियो।

त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै ‘अघिअघि जिन्दगी’ सुनाएका थिए। तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो। यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गरेका थिए। सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द ‘आधीबाटो हिँडेपछि’ सम्पन्न गरे।

त्यसपछि कार्यक्रमले दोस्रो चरण सुरु भयो। कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो। उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको यो मन त तलाउ हो लाई प्रस्तुत गरेकी थिइन्। राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा तिमी बाहेक, खाटा बसेछ, ए ऐना, र छाएछ बसन्त बोलका गीतहरू प्रस्तुत गेरकी थिइन्।

न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए। कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए।

कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा मेरो प्यारो, पागल, अरबौं मान्छेहरूमा, जय होस् बोलका गीतहरू रहेका थिए। आनी छोइङको स्वरमा लोकप्रिय बनेको फूलको आँखामा गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए।

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा शम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुवेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो।     

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad