केही दिनदेखि कलाकार जितु नेपाल विवादमा छन्। निर्माण टिमसँग विवाद भएसँगै उनले धमाधम फिल्म छोडेको खबर बाहिरिएको छ।
केहीअघि मात्रै जितुले आफ्नो समय नमिलेको कारण देखाउँदै फिल्म ‘परालको आगो’ छोडेका थिए। यसैबीच, उनले ‘कार्की साइँला’ पनि छोडेको खबर आएको छ।
जसले अहिले सिनेवृत्तमा जितु कुनै टिमसँग नमिल्ने भन्दै टीकाटिप्पणी भइरहेको छ। यसअघि पनि जितु ‘छक्का पञ्जा’ टिमबाट अलग भएका थिए।
तर, जितुले भने आफूले विवादका कारण फिल्म छोडेको कुरा गलत भएको बताए। कुनै पनि निर्माण टिमसँग विवाद नभएको र समय नमिल्दा फिल्म छोडेको उनको दाबी छ।
यस्तो छ जितुको भनाइ
अहिले मेरो दुइटा कुरा आइरहेका रहेछन्। एउटा कार्की साइँलाको विषयमा, अर्काे परालको आगोकाे विषयमा। मलाई बिहान केही साथीहरूले फोन गरेर साेध्नु पनि भयो। तपाईंको किन यस्ता खबर आएका हुन् भनेर। जितु नेपाल कहीँ गए नि मिल्न सक्दैन, मिल्दैन? त्यो खालको त तपाईं हुनुहुन्न भन्नुभयो।
‘परालको आगो’ समय नमिलेकै कारण छोडेको हुँ। सुशील पोखरेलजी मेरो पुरानो साथी, हामी सँगैसँगै बस्छौं उहाँ कोटेश्वर र म जडिबुटी। ल एउटा फिल्म गरौंँ भन्ने भयाे। मैले साइन गरेँ। उहाँले मलाई केही रकम दिनुभयो। सुरुमा असारमा गर्ने भन्ने कुरा थियो। त्यसपछि असारबाट साउन १८ बाट जाने है गाउँले भन्नुभयो। हामी एउटै गाउँको उहाँले मलाई गाउँले भन्नुहुन्छ। बीचमा स्क्रिप्टहरूको काम पनि गरियो। सबै भयो, मैले त्यहीअनुसार साउन १८ बाट सुटिङ गर्नुपर्ला भन्ने सोचें।
फेरि बीचमा भेटेपछि चाहिँ अब असोजको पहिलो हप्ताबाट जाने भन्ने कुरा गर्नुभयो। अनि पहिले काभ्रेमा नजिकै गाउँमा भन्ने थियो। पछि चाँहि अहिले हामीले उता म्याग्दीको एकदम विकट गाउँमा राम्रो लोकेसन पाइयो, त्यहाँ गर्ने भन्नुभयो। असोजको पहिलो हप्ता गएर दसैँ र तिहारमा नआउने, उतै गएर सुटिङ सक्ने भन्ने कुरा भयो। योपाली दसैंँउतै मनाउने भन्ने कुरा भयाे।
अनि मैले यस्तो हो भने मलाई मिल्दैन है भनेँ। किनभने, एक त मैले असोजमा अरु काम पनि सोच्या छु। त्यसपछि अब दसैँमा चाँहि म खासै सुटिङ गर्दिन। म झन्डै ३० वर्षदेखि यो लाइनमा छु। हुन त आमा बित्नुभएकोले यो वर्ष दसैँ हुँदैन। तैपनि अब परिवारसँग बस्ने, यताउता बल्ल बल्ल काम गरेर आएको हुन्छौँ सबै। अनि परिवारले पनि दसैँमा चैँ नहिँड भन्नुहुन्छ। त्यही भएर म दसैँमा त भ्याउदिनँ भनेपछि म बाहिएको हुँ। मैले लेनदेन गरेको पारिश्रमिक पनि उहाँलाई फर्काइदिएँ। अनि केही सर-सहयोग पर्दा हामी छौँ है। अझ मैले म यो चलचित्रमा नभए पनि भावनात्मक रूपमा म छु भनेको छु। सुशीलजीको पनि त्यस्तो केही प्रतिक्रिया आएको छैन।
अब कार्की साइँलाको चैँ यस्तो भयो। कार्की साइँला अलि अगाडि नै सुटिङ गर्ने भनेको थियो। अब कार्की साइँलाको चैँ स्क्रिप्ट बीचमा अलि त्यस्तै-त्यस्तै खालको थियो। अहिले मलाई आरोप आइरा रहेछ, स्क्रिप्ट यता र उता गर्यो भनेर। अब अलिकति ऐतिहासिक पृष्ठभूमिको स्क्रिप्ट लिएर आउनुभएको थियो। त्यसको निर्माता पनि एकदमै नयाँ, इटहरीतिर बस्नुहुन्छ। डाइरेक्टर एकजना भाइ भर्खर-भर्खरकाे हुनुहुन्छ। अनि कथावस्तु चाँहि २०३२ सालदेखि ३६ सालसम्म छिन्ताङ घटनामा आधारित छ। जुन पढ्दा यस्तो लाग्यो कि ऐतिहासिक फिल्म, इतिहास झल्किने, त्यो बेलामा छिन्ताङ घटनामा घटेको घटना, त्यतिखेरको त्यो पञ्चायतकालमा धनकुटामा भएको सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बखतका कुरा। त्यो भएपछि मैले पढ्दै गएपछि मलाई यस्तो भास्ट लाग्यो।
०४६ सालभन्दा अगाडिको कथा भन्ने हाे भने ३२ सालमा धरान बजार कस्तो थियो होला? चतरा कस्तो थियो होला? त्यो बजार, गाउँ कस्तो थियो होला त? अब त्यो देखाउन त पर्यो नि! लेखकले ३२ सालको घटना लेख्दियो तर देखाउन त गाह्रो छ नि अनि डाइरेक्टर पनि नयाँ हुनुहुन्छ, प्रोड्युसर नयाँ हुनुहुन्छ, कलाकार म छु हाँस्यव्यंग्य गरेको। एकदम भास्ट भनेपछि यो त हुँदैन, यो त गाह्रो हुन्छ। यत्रो सिनेमा बनाउन सकिन्छ र? भनेर मैले सोधेको हुँ। त्यो भनेर मैले सल्लाह दिएँ। मलाई लिएपछि बरु भरियाकै कहानी गरौँ तर अब कमेडी राखौँ। कमेडी गर्दै केही सेन्टिमेन्ट गर्ने खालको स्क्रिप्ट बनाउँ भनेपछि फेरि नयाँ स्क्रिप्ट बन्यो। राम्रो बन्यो स्क्रिप्ट। सुटिङमा जाने भइयो। तर, अब सुटिङमा जानलाई त्यतिखेर पानी परेर त्यो छिन्ताङमा, म त गाउँमै गएँ। पानी पर्यो, चाँडै बर्खा लाग्यो। त्यसकारणले अलि पछि गरौं भनेर सरेको। त्यति मात्रै हो।
अब अहिले आएर विभिन्न विवाद निकालेर, कहीँ मिल्दैन भन्ने कुरा आइरहेको छ। मेरो धर्म के हो भने निर्मातालाई यस्तो-यस्तो हो भन्दिन त पर्यो नि त। मैले त ३० वर्ष यही क्षेत्रमा बिताएको छु। फेरि आफूलाई फिट हुने क्यारेक्ट हुनुपर्यो। मैले गर्न पनि सक्नुपर्यो। मैले त यथार्थ कुरा भन्दिएँ निर्मातालाई। यो सब्जेक्टमा जाने भए त म त गर्न सक्दिनँ। किनभने सिनेमा यो बनाउन त धेरै गाह्रो छ। आज जताजतै बाटो गएको छ, जताजतै बाटो पिच छ, गाउँका जस्ता घर छैनन्। अनि अब ०३२ सालको कसरी बनाउनुहुन्छ? गाउँ धरान बजार ३२ सालको कस्तो देखाउने? उहाँहरूले चाँहि यो मैले चुप लागिदिएर ए जस्तो भए नि सुटिङमा गइहालौं भन्या भएदेखि त हुन्थ्यो, जान्थेँ। अब त्यो नभएपछि अनि जितुले गर्दाखेरि भएन भन्ने खालको छ। यथार्थ कुरै त्यही हो। यो विषयमा उहाँहरुसँग सोध्दा पनि हुन्छ। अब बेकारमा मलाई नराम्रो बनाउनलाई कसको स्वार्थ छ, को पछि लाग्या छ।
Shares

प्रतिक्रिया