नेपाली मौलिक परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण घोषणा गरिएको छ।
विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यस फिल्मको नाम राखिएको हो।
रञ्जन रिजालको यसै फिल्मबाट निर्माणमा डेब्यु गर्न लागेका हुन्।

२०६२/६३ सालदेखि म्युजिक भिडिओ क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौँ भिडिओमा अभिनय गर्दै सशक्त छवि बनाएका छन्।
‘नाई नभन्नु ३’ र ‘समर लभ’ जस्ता निर्देशन गरेका मुस्कान ढकाल यस सिनेमाका निर्देशक हुन्। नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका छन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो।
फिल्मको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ। अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ।
‘नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं,’प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्।
निर्देशक मुस्कान ढकालका अनुसार हाल सिनेमाको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ। सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकालले बताए।
Shares

प्रतिक्रिया