यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ले रिलिज मिति तोकिएको छ । निर्माणपक्षले माघ १ गतेलाई रिलिज डेट लक गरेको हो।
अभिनेत्री सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो। छायांकनको सेटबाटै निर्माणपक्षले रिलिज मिति सार्वजनिक गरेका हुन्। अहिले यो चलचित्रको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ ।
असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ। चलचित्रको अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा भएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन्। त्यस्तै, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए ।
‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन्। ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

प्रतिक्रिया