गत बिहीबार हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले फिल्म ‘झरीपछिको इन्द्रेणी’ छायांकन सुरु गरे। यसअघि ‘लाज शरणम्’ निर्माण गरेका उनको यो डेब्यु निर्देशकीय फिल्म हो। लामो समयदेखि टेलिसिरियल गर्दै आइरहेका घिमिरे ‘सक्किगो नि’ बन्द गरेर फिल्म निर्माणमा होमिएका हुन्।
त्यस्तै, केही दिनअघि रियालिटी सो ‘कमेडी दरबार’ टिमले पनि नयाँ फिल्म बनाउने घोषणा गरिसकेको छ। सोका निर्देशक विक्की अग्रवालले पनि ‘ककाकिकी’ बाटै सिनेक्षेत्रमा पाइला राख्दैछन्। विक्की र श्रद्धा प्रसाईँले यस फिल्मलाई संयुक्त रूपमा निर्देशन गर्नेछन्। यस फिल्ममा अग्रवालकै कथा तथा पटकथा रहनेछ।
केही महिनाअघि मात्र हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले पनि फिल्म ‘गोबर गणेश’ निर्माणको घोषणा गरिसकेका छन्। श्रेष्ठले पनि यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्।
अर्का हास्यकलाकार दीपक आचार्य ‘काकु’ले फिल्म बनाइरहेका छन्। उद्योगपति शेखर गोल्छाको लगानी रहेको ‘परान’ मार्फत आचार्यले निर्देशनमा डेब्यु गरेका हुन्। यस फिल्मको कथा आचार्यले नै लेखेका हुन्।
गत फागुनमा चर्चित सक्किगोनी टिमले बनाएको पहिलो फिल्म ‘लाज शरणम्’ रिलिज भइसकेको छ। यस फिल्ममार्फत कलाकार कुमार कट्टेलले निर्देशनमा डेब्यु गरेका थिए। जुन फिल्मले राम्रै चर्चा बटुलेको थियो।
पछिल्लो समय फिल्म निर्माण ह्वात्तै बढेको छ। गत कात्तिकमा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले झण्डै ५० करोड कमाउँदै इतिहास रचेपछि फिल्म निर्माणको संख्या तीन गुणाले बढेको चलचित्र विकास बोर्डका अधिकारीहरू बताउँछन्। यस्तोमा हास्यक्षेत्रमा काम गर्नेहरू धमाधम फिल्म निर्माणमा आइरहेका छन्।
चलचित्र क्षेत्र कलाक्षेत्रकै पाटो भएकाले कमेडीतिरका ठूलो पर्दामा आउनु स्वाभाविक मान्छन् निर्देशक कुमार कट्टेल।
‘अब म्युजिक भिडिओमै काम गरे पनि, सिरियल बनाए पनि, फिल्म बनाए पनि एउटा कलाकार, एउटा सर्जकले गर्ने नै कामहरू जस्तो लाग्छ। कलाकार भइसकेपछि कला क्षेत्रसँगै सम्बन्धित काम गर्ने हो। त्यहीअन्तर्गत नै गरेका चिज हुन् जस्तो लाग्छ मलाई,’ उनले भने, ‘जीवनयात्रामा आफूलाई कहाँ-कहाँ अपग्रेड गर्दै जाने, कहाँको अनुभव लिने र सिक्दै जाने भन्ने पनि हुन्छ। ठूलो पर्दाको रंगीन दुनियाँ अर्कै छ। सिनेमामार्फत दर्शकहरूलाई मनोरञ्जन दिऊँ न भन्ने सोच हुन्छ नि। त्यही कारणले आकर्षण बढेको हो।’
यसअघि पनि थुप्रै हास्यकलाकार फिल्ममेकिङमा छन्। महजोडीदेखि दीपकराज गिरी, प्रदीप भट्टराई, सीताराम कट्टेल लगायतका कलाकारहरू फिल्ममै छन्। कमेडी जनरामा बनेका ‘छक्का पञ्जा’ सिरिजका सबै फिल्म व्यावसायिक रूपमा सफल छन्। त्यस्तै, प्रदीपको निर्देशनमा बनेका ‘जात्रा’ सहितका फिल्म पनि बक्सअफिसमा हिट छन्।
कुमारका अनुसार हास्यव्यङ्ग्य भनेको एउटा थेरापी वा औषधि हो। मान्छेहरू केही समय निकालेर खुसी हुन र रमाउन खोज्छन्। त्यसकारण कमेडी फिल्महरू दर्शकहरूको रोजाइमा परेका छन्। कमेडी फिल्महरू व्यावसायिक भएका कारण पनि आकर्षण बढिरहेको उनको भनाइ छ।
‘दर्शकहरूले कमेडीलाई चाहिँ धेरै रुचाइदिनुभएको छ नेपालमा। व्यावसायिक हिसाबले पनि मनोरञ्जनात्मक चलचित्रहरू चलिरहेका छन्। राम्रै चलिरहेको भएर पनि फिल्मबाट हामी पनि जाम् कि भन्ने जस्तो लाग्छ,’ उनले भने।
रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट उदाएका कलाकार हुन् विक्की अग्रवाल। सिक्किम घर भएका विक्की ‘कमेडी च्याम्पियन’मा फिनालेसम्म पुगे पनि विजेता बन्न सकेनन्। तर, त्यो बेलादेखि विक्की कमेडी सोमै सक्रिय छन्। ‘आम्मा कसम याँ दुख्छ’पछि उनी ‘कमेडी दरबार’ चलाइरहेका छन्।
विक्कीले सिक्किममा हुँदा केही सर्ट फिल्महरू बनाएका बताए। जसमध्ये उनको एलजीबीटीक्यूसम्बन्धी सर्ट मुभी ‘मोहन र मदन’ लस एन्जेलस फिल्म फेस्टिवलमा गएको थियो। विक्की अग्रवालले यो फिल्म आफू कमेडीमा आउनुअघिको योजना रहेको सुनाए।
उनले भने, ‘कमेडीका कारण चिनिएको भएर कमेडियनपछि फिल्म मेकिङमा आएको जस्तो लाग्ला। तर, मैले कमेडीमा आउनुभन्दा धेरै अगाडिदेखि नै सर्ट मुभीहरू गरिरहेको थिएँ। यो फिल्म पनि धेरै अगाडिकै प्रोजेक्ट हो। टाइम मात्रै नपाएर ढिलो भइरहेको थियो। यो पालि चाहिँ अलिकति गर्न पर्यो भनेर आँटिएको हो।’
उनका अनुसार जुन माध्यमबाट पनि दर्शकलाई खुसी पार्नु मेकरको काम हो। जसले पनि भन्न मन लागेको कथालाई लिएर फिल्म बनाउन सक्ने सुनाउँछन् उनी।

‘माध्यम जे भए पनि हाम्रो फाइनल डेस्टिनेसन भनेको दर्शक खुसी गर्नु नै हो। मैले चाहिँ एउटा मुभी धेरै अगाडिदेखि सोचेको हो। अब यसपछि धेरै मुभी बनाइबस्छु भन्ने पनि होइन। तर, यो हामीले काम गरिराथ्यौँ, त्यो मुभी ल्याऊँ न भन्ने मात्रै हो। सबै कुरा तयारी भइसकेको छ, अब तिहारपछि सुटिङ सुरु गर्नेछौँ। हामीले अब फर्स्ट प्रि-टिजर पनि फाल्न आटेको छौँ, यो दुई हप्ताभित्रै,’ उनले भने।
कलाकार तथा लेखक दीपकराज गिरी ठूलो पर्दामा ग्लामर हुँदा फिल्म निर्माणप्रति आकर्षण बढिरहेको बताउँछन्।
‘ठूलो पर्दामा आकर्षण हुनुको कारण यसपछाडि लुकेको ग्लामर हो। सिनेमा हिट हुँदाखेरि समाचार बन्छ। सिनेमा फ्लप हुँदा पनि समाचार बन्छ। सानो पर्दामा काम गर्दा त्यो समाचारको विषय कम हुन्छ। सबभन्दा पहिलो कारण त यही नै हो। जसले गर्दा मानिसलाई ठूलो पर्दाको चलचित्रमा रुचि हुन्छ,’ उनले भने, ‘मानिस धेरै चर्चाप्रेमी हुन्छ। आफूले गरेका कामहरूको चर्चा होस्, सामाजिक सञ्जालमा छाओस् भन्ने चाहन्छ। सानो पर्दाको दर्शकसँग डाइरेक्ट कनेक्सन हुँदैन। ठूलो पर्दाको त डाइरेक्ट कनेक्सन हुन्छ।’
उनका अनुसार व्यावसायिक सफलता फिल्म क्षेत्रप्रति आकर्षित हुनुको दोस्रो कारण हो।
भन्छन्, ‘२ करोडमा बनेको ‘पूर्ण बहादुरको सारंगी’ ले झण्डै ५० करोड रूपैयाँ कमाएकोदेखि छक्का पञ्जा सिरिजले एक अर्ब कमायो भन्ने समाचार आउँछन्। त्यो देखेर यो क्षेत्रमा पैसा रहेछ भनेर फिल्म बनाउनेहरू छन्।’
दीपकका अनुसार त्यो बेला हास्य कलाकारहरूलाई सिनेमामा दोस्रो दर्जा दिइन्थ्यो। हिरोको पछाडि बस्नेदेखि सानो रोलमा राखिन्थ्यो। यद्यपि त्यो बेला महजोडीले भने केही फिल्ममा काम गरेका थिए।
दीपकलाई पहिल्यैदेखि सिनेमामै अभिनय गर्ने रुचि बढी थियो। त्यो पनि मुख्य भूमिकामा उनी देखिन चाहन्थे। सुरुवातमा केही फिल्म खेलेका उनले पनि ‘छ एकान छ’बाट निर्माताका रूपमा सिनेजगतमा डेब्यु गरे।
‘छ एकान छ’ हिट भएसँगै उनले पछाडि फर्किएर हेर्नुपरेको छैन। त्यसपछि दीपककै निर्माणसहित लेखन र अभिनय रहेका ‘छक्का पञ्जा’ का सिरिजहरू बक्सअफिसमा हिट छन्।
‘छक्का पञ्जा’ को सफलताका कारण पनि हास्यक्षेत्रका फिल्मतिर होमिरहेको बताउँछन् गिरी।
‘यसको कारण चाहिँ छक्का पञ्जा हुनसक्छ। छक्का पञ्जाले जुन सफलता प्राप्त गर्यो, त्यसपछि सबै हास्य कलाकारलाई दीपक दाइले सके, अब हामी पनि सक्छौँ भन्ने एउटा आशा त हुन्छ। छक्का पञ्जाले पाएको सफलतापछि अब हामी सिरियलबाट आएको कलाकारहरूले एउटा प्रस्थान बिन्दु यो हुन सक्छ, यसरी जानु पर्छ भन्ने लागेको हुन सक्छ,’ उनले भने।
तर, सानो पर्दा र ठूलो पर्दाको काममा निकै भिन्नता देख्छन् दीपक।
‘सिनेमा र टेलिभिजनमा भन्ने कथा उस्तै लागे पनि ठूलो फरक छ। मलाई सुरुको दिनमा एकदमै गाह्रो भएको थियो। सानो पर्दा र ठूलो पर्दामा कथा भन्ने प्रविधिमा भिन्नता हुन्छ। त्यो बुझेर गएको छ भने मान्छेहरू सफल हुन्छन्,’ उनले भने, ‘त्यो फरक बुझेन भने चाहिँ सानोबाट ठूलोमा जानुको अर्थ भएन। पूर्ण बहादुरको सारंगीले कमायो, छक्का पञ्जाले बनाएको मानक देखेर मात्रै हामी पनि सफल भइहाल्छौँ नि भन्न थालियो भने चाहिँ फेरि अलि गाह्रो हुन्छ।’
Shares

प्रतिक्रिया