सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’को छायांकन सकिएको छ। गीतहरूबाहेक अन्य दृश्यहरूको छायाङ्कन ५६ दिनमा सम्पन्न सकिएको हो।
निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरूबाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन्।
झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिका सहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो।
विजय केरुङको निर्देशन रहेको सुशील र अञ्जनाका अतिरिक्त, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायतको अभिनय रहेको छ।
यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो। एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको यस चलचित्रलाई विशेष प्रतीक्षा गरिएको छ।
‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ।
निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। अब झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।
यसै वर्षभित्र फिल्मलाई प्रदर्शनमा ल्याउने निर्माणटिमको लक्ष्य छ। अब बाँकी रहेका गीतहरूको छायाङ्कन सकेपछि पोस्ट–प्रोडक्सन कार्य थालिने निर्माता सिवाकोटीले जनाए।
Shares

प्रतिक्रिया