आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ। ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
वेब प्रालिको प्रस्तुति रहेको यो फिल्म आगामी भदौ ६ देखि देशभर प्रदर्शन हुँदै छ। फिल्मको रनटाइम २ घण्टा २९ मिनेट लामो छ।
यस फिल्ममा आशान्तसहित मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ।
निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ। डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको फिल्ममा मूल कथा श्रीमान श्रीमतीको भए पनि यसमा किशोर किशोरीहरू समेत भएकाले यो सबै उमेर र वर्गका लागि स्वादिलो र हेर्न पर्ने प्रेरणादायी चलचित्र बनेको निर्माण टिमको दाबी छ।
मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणाका कारण गलत निर्णय लिन पुग्ने अवस्थामा पुग्छ भन्ने कथा फिल्ममा भनिएको छ।
गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनीले निर्माण गरेको फिल्मको पोस्टर डिजाइन रसिक राजले गरेका हुन्।
Shares

प्रतिक्रिया