कला


सहरकी नयाँ सकमबरी : आफूभन्दा ठ्याक्कै उल्टो चरित्रमा सनिषा

बाबालाई सोधेर पहिलोपटक चुरोट मुखमा राखिन्, नाटकले सिकायो धेरै कुरा
सहरकी नयाँ सकमबरी : आफूभन्दा ठ्याक्कै उल्टो चरित्रमा सनिषा

लक्ष्मी बलायर
साउन २१, २०८२ बुधबार १९:४३, काठमाडौँ

सुयोगवीर दोस्रो विश्वयुद्धका सिपाही हुन्छन्। जसमा पितृसत्तात्मक सोच र यौनिक मनोवृत्ति हाबी छ। उनले धेरै महिलाको यौन शोषण गरे। नारीलाई सधैँ यौनको नजरले हेर्ने सुयोगवीर यसपटक भने सकमबरीको प्रेममा पर्छन्।

तर, सकमबरीलाई उसको प्रेमप्रति कुनै मतलब छैन। सुयोगवीर फूलले भमरासँग लाप्पा खेल्नुलाई प्रेम सम्झन्छन्। तर, सकमबरी फूलले आफ्नो इच्छाअनुसार झर्न पाउनुपर्ने र झर्न भमराको डसाइ आवश्यक नहुने तर्क राख्छिन्। किनकि उनलाई थाहा छ, प्रेम कुनै बाध्यता होइन।

सकमबरीसँगको कुराकानीमा सुयोगवीर प्रश्न गर्छन्: ‘भमरा बस्नै नपाएपछि यो फूलको के अर्थ?’

सकमबरीको जवाफ हुन्छ: फूल बिग्रँदैन, सुरक्षा हुन्छ।

सकमबरीको यही जवाफमा नारी चेतनाको झिल्का भेटिन्छ। त्यही विद्रोही पात्र सकमबरीको भूमिकामा देखिएकी छिन् अभिनेत्री सनिषा भट्टराई। पारिजातको चर्चित उपन्यास आधारित नाटक ‘शिरीषको फूल’ मार्फत सनिषाले रंगमञ्चमा डेब्यु गरेकी हुन्। यो नाटक गैह्रीधारास्थित कान्तिपुर फिल्म एकेडेमीमा चलिरहेको छ।

मोडलिङमार्फत चर्चामा आएकी सनिषाले गतवर्ष विराज भट्टको ’१२ गाउँ’बाट फिल्ममा डेब्यु गरेकी हुन्। जुन गतवर्षभरिकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म हो। डेब्यु फिल्म नै हिट दिनुका साथै सनिषाले राजेश हमालसँगै ‘नरसिंहा:अवतार’ मा स्क्रिन सेयर गरिसकेकी छिन्।

‘शिरीषको फूल’ म्युजिक भिडिओ र फिल्मभन्दा नाटकमा काम गर्दा निकै गाह्रो भएको सनिषाको अनुभव छ।

‘भिडिओ, मुभीभन्दा रंगमञ्चतिर चाहिँ अलिकति गाह्रो नै हुने रहेछ। लामो-लामो डाइलग सम्झिनुपर्ने र रिटेक पनि छैन। भोकल, एक्सप्रेसन सबै लाइभ अडियन्सको अगाडि गर्नुपर्ने हुन्छ। त्यही भएर सुरुमा एकदमै गाह्रो लाग्यो। पहिलो साता गाह्रो भयो, अब अहिले चाहिँ सिक्दै जाँदा सहज लागिराखेको छ। नाटक सिक्नको लागि एकदमै ठूलो ठाउँ हो। एक्टिङ भन्ने कुरा लत लागेको जस्तो हुँदो रहेछ,’ उनले भनिन्।

‘शिरीषको फूल’की सकमबरी निकै बोल्ड पात्र हो। जो कसैसँग बोल्न डराउँदिन र निर्धक्कसँग आफ्नो मत राख्छे। पुस्तक पढ्नु अनि चुरोट तान्नु उनको दैनिकीसरह हो।

तर, सकमबरीभन्दा ठ्याक्कै विपरीत छिन् सनिषा। सनिषा सामान्य केटीसहर कोमल छिन्। हत्तपत्त आफ्नो मत राख्न सक्दिनन्। चुरोट तान्नु त उनको कल्पनाबाहिरको कुरा हो। तर, पात्रकै लागि आफूले पहिलोपल्ट चुरोट तान्नुपरेको सुनाउँछिन् उनी।

‘मभन्दा विपरीत नै भएकोले अलिकति गाह्रो फिल भएको थियो। सकमबरी पात्रले चुरोट एकदमै खाने। निकोटिनले गर्दा उसको हात पहेँलो भइसकेको हुन्छ,’ उनले भनिन्, ‘मैले फेरि लाइफमा चुरोट नै नखाको। हुक्का र भेप समेत ट्राइ गरेको थिइनँ। चुरोट खानुपर्ने सिन भएपछि परिवारसँग कुरा गरेँ। बाबाले केही हुँदैन, क्यारेक्टरको लागि मान्छेले कस्तो-कस्तो कुरा गर्छ भन्नुभयो। त्यसपछि पहिलोचोटि चुरोट मुखमा राखेँ। खोकी लागेर एकदम गाह्रो भयो। त्यो दैनिक गर्नुपर्छ, त्यही भएर अलि गाह्रो छ।’

यसअघि सनिषाले ‘शिरीषको फूल’बारे सुनेपनि पुस्तक भने पढेकी थिइनन्। तर, कान्तिपुर थिएटरले अफर गरिसकेपछि उनले पहिलोपल्ट पुस्तक पढिन्। दुईतीनपटक पुस्तक पढेपछि अडिसन दिएर छनोट भइन्। सुरुमा सकमबरी पात्र निर्वाह गर्दा उत्साहसँगै डर समेत लागेको बताउँछिन् उनी।

‘सुरुमा उत्साहसँगै डर पनि लागेको थियो। आफूले राम्रोसँग गर्न सकेन भने त्यो पात्रकै अपमान गरेजस्तो होला भन्ने सोचेँ। कतिजनाले केही भन्नुहुन्छ होला भन्ने डर थियो एक किसिमको। तर, सुरुमै सबै कुरा पर्फेक्ट हुन्छ भन्ने पनि छैन। सकमबरी कस्ती थिइन् भनेर त कसैलाई पनि थाहा छैन नि त। हरेकको कल्पनामा फरक-फरक हुन सक्छिन्। हामीले र मैले सोचेअनुसार चाहिँ यस्तो होला है भन्ने तरिकाले मैले आफूलाई प्रस्तुत गरेँ। निर्देशकले त्यहीअनुसार बनाइदिनुभयो। जे होस् अब कोसिस गरिराछु,’ उनी भन्छिन्।

यस नाटकमा सनिषाले चर्चित अभिनेता जीवन लुइँटेलसँग स्टेज सेयर गरेकी छिन्। जीवनसँग सहकार्य गर्दा निकै सहज भएको बताइन् उनले।

भन्छिन्, ‘जीवन सरसँग काम गर्दा निकै सहज भयो। उहाँले नजानेको, नबुझेको कुराहरू सिकाउनुहुन्छ। यस्तो-यस्तो हुन्छ, यसरी हुन्छ सनिषा भन्नुहुन्छ। उहाँ त कत्ति वर्षदेखि हुनुहुन्छ नि त इन्डस्ट्रीमा। तर, एकदमै आफ्नो जुनियरलाई जसरी गाइड गर्छन् नि, त्यस्तै गर्नुहुन्छ। एकदमै स्विट हुनुहुन्छ। राम्रो छ जे होस्।’

यो नाटक गरिसकेपछि सनिषाले आफूमा निकै परिवर्तन पाएकी छिन्। अभिनयदेखि व्यवहारमै समेत फरक पाएको उनको अनुभव छ।

‘पहिले अँध्यारोसँग एकदमै डर लाग्थ्यो। अहिले अँध्यारोमा म पाइला गनेर हिँडिराको हुन्छु। किनकि पैतालाले टेक्नै मिल्दैन, आवाज आउँछ नि त। नाटकबाट मैले कत्ति धेरै कुराहरू सिकेँ,’ उनले भनिन्, ‘अनि एकोहोरो भइँदो रहेछ। नाटक गर्न जाँदाखेरि मैले फोन नै घरमा छोडेर हिँडेछु। उता गएपछि बल्ल मैले त आज फोनै ल्याइनछु भन्ने थाहा पाएँ। कति कुराहरू मसँग पहिलोचोटि भयो। किनकि फोनबिना बस्नै सकिँदैन नि त। आठ-दस घण्टा फोनबिना बिताइयो।’

एक वर्षमै सनिषाले राम्रो चर्चा बटुलिसकेकी छिन्। छिट्टै सनिषा अन्य फिल्ममा पनि काम गर्ने तयारीमा छिन्। तर, फिल्मसहित रंगमञ्चमा समेत निरन्तरता दिने उनको सोच छ।

‘सबैजनाले नाटकलाई मन पराइदिनुभएको छ। कत्ति राम्रो-राम्रो साहित्यको व्यक्तिहरू, लेखक, गीतकारदेखि फिल्मकर्मी आउनुभएको छ, राम्रो प्रतिक्रिया दिनुभएको छ। एकदमै खुसी लागिरहेछ त्यो कुराहरूले। नाटकलाई निरन्तरता दिन्छु होला। अब लगत्तै गर्न नपाए पनि बिस्तारै-बिस्तारै गर्न चाहिँ गर्छु भन्ने सोचिराछु,’ उनले सुनाइन्।

यस नाटकमा सनिषा र जीवनसहित राज न्यौपानेको अभिनय छ। यस नाटकमा पत्रिका घिमिरेको लेखक र निर्देशन रहेको छ। रमेश पुरी निर्माता रहेको नाटक साउन २७ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad