अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय विद्यालयस्तरीय पाँच दिने नाटक महोत्सवको तयारी पूरा भएको छ। लालाबालाको सहकार्यमा आगामी भदौ २ गतेदेखि ६ गतेसम्म काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’ मा हुनेछ। जुन महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ।
आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईका अनुसार अक्षरा स्कुलले स्थापना कालदेखि नै सिपमूलक र संस्कारयुक्त शिक्षामा थिएटरलाई समावेश गर्दै आएको छ। अक्षरा स्कुलले नाट्यकला र शिक्षाको संयोजनमार्फत् विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, संवादकला र समूहमा काम गर्ने क्षमता विकास गर्ने उद्देश्य राख्दै महोत्सव सञ्चालन गरिएको निर्देशक भट्टराईले बताइन् ।
महोत्सवजस्ता साहित्यिक विधाका गतिविधिले विद्यार्थीलाई पुस्तक मात्र होइन, जीवनका वास्तविक परिस्थितिसँग पनि जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो । उनले नाटकलाई शिक्षाको अविभाज्य अङ्गका रूपमा विकास गर्न विद्यालयहरूबीच सहकार्य आवश्यक रहेकाले पनि यो महोत्सवको आयोजना गरेको बताइन्।
कार्यक्रममा सहभागी विद्यालयहरूले सामाजिक मुद्दा, वातावरण संरक्षण, समानता, बालअधिकार, धर्मसंस्कृति संरक्षणलगायत विषयमा आधारित मौलिक तथा रूपान्तरित नाटक मञ्चन गर्नेछन्।
नाट्य उत्सवमा लामो समयदेखि विद्यालयहरुमा अभिनय प्रशिक्षण दिइरहेका क्रियाशील रङ्गकर्मीहरु सामेल हुने छन्। जसमा रामबाबु रेग्मी, दीपा बस्नेत, प्रभाकर न्यौपाने, राम केएसी, मन्जु गिरी, पुष्पराज अवस्थी, प्रतीक दुलाल, सुरज तमु, सागर कान्छो, शिवराम अर्याल, निर्मल साउद, बंसरी पान्डे, प्रकाश दाहाल, टंक चौलागाईंजस्ता चर्चित रङ्गकर्मीहरू रहेका हुन् ।
Shares

प्रतिक्रिया