कला


दोस्रो राष्ट्रिय नाटक महोत्सवमा १७ नाटक सहभागी

दोस्रो राष्ट्रिय नाटक महोत्सवमा १७ नाटक सहभागी

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:३९, काठमाडौँ

काठमाडौँको पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा ‘दोस्रो राष्ट्रिय नाटक महोत्सव’ चलिरहेको छ। जुन महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका विभिन्न १७ वटा स्कुलका १७ नाटकसहित विद्यार्थी सहभागी छन्।

आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन्। अक्षरा स्कुलकै आयोजना र लालाबालाको सहकार्यमा भइरहेको नाटक महोत्सवमा दोस्रो दिन मंगलबार टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’, काष्ठमण्डप विद्यालयले चन्दा खनालको ‘द इन्टरनेट इज अ डिस्ट्रयाक्ट-ओ लुक, अ किटेन’ र क्रिएटिभ एकेडेमी स्कुलले निर्मल साउदको ‘सपनासँगको शून्यता’ नाटक प्रस्तुत गरेका हुन्। 

महोत्सवको पहिलो दिन सोमबार रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा भ्याली भ्यु स्कुलका विद्यार्थीले ‘इच्छा भर्सेस समय’ नाटक मञ्चन भएको थियो। ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीको नाटक ‘बैमानी काल’ देखाइयो।

आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीमा थप हौसला प्रदान गर्ने बताइन्।

‘महोत्सवमा प्रस्तुत नाटकहरू केवल मनोरञ्जनका लागि मात्र नभएर सामाजिक जीवनका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विद्यार्थीलाई सोच्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको हो। विद्यार्थीहरूले अभिनयमार्फत समाजका गहिरा सवालहरू उठाउन सकून् भन्ने हाम्रो चाहना हो। नाटकहरूका माध्यमबाट विद्यार्थीलाई सिप सिकाइका साथै सही र गलत छुट्ट्याउँदै जीवनका विकल्पहरूबारे चिन्तनमनन गर्न उन्मुख गराउँछ,’उनले भनिन्।

उनले विद्यार्थीलाई सिपमूलक र संस्कारयुक्त शिक्षाका साथै अभिनयात्मक प्रस्तुतिका लागि थिएटरलाई समावेश गरेर विद्यार्थीहरूलाई अभिनय कला सिकारहेको समेत जानकारी दिइन्। 

विद्यार्थीमा नाट्यकला र शिक्षाको संयोजनमार्फत् आत्मविश्वास, सिर्जनशीलता, संवादकला र सामूहिक काम गर्ने क्षमता विकास होस् भन्ने उद्देश्यले दोस्रो अन्तर्राष्ट्रिय महोत्सवको  आयोजना आफूले गरेको निर्देशक भट्टराईको भनाइ थियो।

भदौ ४ गते भने रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ र द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक प्रस्तुत गर्ने भएका छन्। 

त्यस्तै भदौ ५ गते ग्लोबल पब्लिक स्कुलको मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलको पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ र हिमालयन ह्वाइट हाउस स्कुलले ‘द ग्रिक मिथोलोजी ओलम्पिजान्जा’ र टाइम्स इलिमेन्ट्रि स्कुलको प्रतीक दुलालद्वारा लिखित तथा सुरज तमूद्वारा निर्देशित ‘दुःखी राजकुमारी’ मञ्चन हुनेछन्।

भदौ ६ गते भने लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता‘रुरु’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंको ‘समीर नाचेको दिन’ नाटक प्रस्तुत गर्नेछन्। यो महोत्सव भदौ ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad