किताव यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल आयोजना गरेको छ। लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण गरिएको हो।
वि.सं. २०७५ बाट सुरु भएको किताव जात्रा फेस्टिभल भारतमा चार र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोश्रो संस्करण भएको आयोजकले जनाएको छ।
प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली कला संस्कृति र साहित्यलाई डायष्पोरामा समेत प्रवर्धन गर्न फाउन्डेसनले निर्वाह गरेको भूमिका सरहानीय भएको बताए।
सञ्चारकर्मी टिकाराम यात्री सहजककर्ता रहेको पहिलो सेसनमा राजदूत घिमिरेले निजामति कर्मचारी छँदा सिंहदरबारमा थिचिएको अनुभूति हुने भएपनि राजदूत बनेपछि उन्मुक्त, स्वतन्त्र तर चुनौति भारी रहेको सुनाए।
राजदूत घिमिरेले एक प्रसंगमा बेलायतमा नेपाली संघसंस्था धेरै खोल्नु भन्दा राम्रो बनाउन सुझाव दिए।
विशेष अतिथी लर्ड रेमी रेन्जरले डिजिटल युगमा सबै रमाइरहँदा आफ्नो कला संस्कृति, किताव पढ्ने बानी नबिर्सन आग्रह गरे। यस्ता महोत्सवले नयाँ पुस्तालाई पनि उर्जा मिल्ने जनाउँदै लर्ड रेन्जरले गोर्खा सैनिक रोल मोडल कम्युनिटी भएकाले आफूले सम्मान गर्ने बताए।
सो अवसरमा किताव यात्रा फाउन्डेसनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका तथा योगदान दिएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको छ।
किताब जात्रा डायष्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई, किताव जात्रा डायष्पोरा लिटरेचर अवार्ड कृष्ण बजगाईं, किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड अनलाइन खबरका बेलायत संवाददाता नवीन पोखरेल, किताब जात्रा डायष्पोरा मिडिया अवार्ड कुशल श्रेष्ठ, किताब जात्रा डायष्पोरा अन्टरप्रिनरसीप अवार्ड (फिमेल) डा. रक्षा थापा, अन्टरप्रिनरसीप अवार्ड (मेल) छोङ् शेर्पा, र युथ आइकन व्यवसायी विकास नेपाललाई प्रदान गरिएको छ।
दोस्रो छलफलमा माइकल हट, संगीता स्वेच्छा, गोपी सापकोटा र कृष्ण बजगाईं प्रमुख वक्ता थिए। ‘नेपाली कला, संस्कृति र साहित्यको विश्वव्यापीकरण’ विषयमा उनीहरूले बहस गरे।
उक्त छलफलमा अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यको अवस्था, डायष्पोरा साहित्यको गुणस्तर, चुनौति आदि विषयमा वक्ताहरुले आआफ्ना धारणा राखे।
आयोजक किताब यात्रा फाउन्डेसनका निर्देशक ऋषिराम अधिकारीले सबैको साथ सहयोगप्रति आभार व्यक्त गर्दै पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनु, किताब प्रदर्शनी, उद्यमशीलता प्रवद्र्धन एवं श्रष्टा सम्मान कार्यक्रमको उद्देश्य रहेको प्रष्ट्याए। उनले फाउन्डेसनले साहित्यिक महोत्सवबाहेक नेपालका विभिन्न २० ठाउँमा पुस्तकालय निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरेको बताए।
सिभिरा लामा रुइतले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन समेत भएको थियो। साहित्यकारहरू जगत नवोदित, निर्भिकजंग रायमाझी, गजलकार नृपेश उप्रेती, भारतीय कवि शाहज खानले आ-आफ्ना रचना सुनाए।
Shares

प्रतिक्रिया