कला


हिरोइन बन्न आएकी थिएँ, गरिबीले कन्टेन्ट क्रिएटर बनायो : इष्टु कार्की (भिडिओ)

माइपोखरीदेखि थाइल्यान्डको बिकिनी तस्बिरसम्मका कथा

अनिल यादव
भदौ ६ , काठमाडौँ

सर्लाहीको एउटा सानो गाउँको आँगनमा फुल्दै गरेका सपनाहरूलाई डोर्‍याउँदै इष्टु कार्की काठमाडौँ आइपुगिन्। उनको आँखामा चलचित्रको पर्दामा आफूलाई हिरोइनको रूपमा हेर्ने अदम्य चाहना थियो। 

तर, सपनाको सहर काठमाडौँ सोचेजस्तो सजिलो थिएन। न कोही आफ्नो मान्छे, न त खल्तीमा पैसा। यहाँ पाइला–पाइलामा संघर्ष थियो। यही संघर्षको बीचमा उनले एउटा बाटो देखिन्, रंगमञ्च। उनलाई लाग्यो, सायद थिएटरमा आफ्नो कला प्रस्तुत गरेरै एकदिन ठूलो पर्दासम्म पुग्न सकिन्छ।

त्यसपछि सुरु भयो उनको रंगमञ्चको यात्रा। थिएटर भिलेजको त्यो सानो संसारमा उनले सात वर्षसम्म आफूलाई समर्पित गरिन्। नाटकका हरेक संवाद र पात्रमा आफूलाई जीवन्त बनाउँदै गर्दा पनि उनको मनको कुनामा भने हिरोइन बन्ने सपनाले डेरा जमाइरहेकै थियो। तर, ग्ल्यामरको यो दुनियाँमा अवसर पाउन कहाँ सजिलो थियो र!

अनि, समयले एउटा यस्तो मोड लियो, जसको उनले कल्पना पनि गरेकी थिइनन्। उनी एकाएक सामाजिक सञ्जालमा कथाहरू भन्न थालिन्। उनको कथा भन्ने मौलिक शैली र प्रस्तुतिले दर्शकको मन जित्न थाल्यो। फेसबुक, इन्स्टाग्राम र टिकटकमा उनका भिडिओहरू आँधीझैँ फैलिए। 

आज अवस्था यस्तो छ कि ठूला–ठूला ब्रान्डहरू उनलाई आफ्नो कथा भन्न लगाउन तँछाडमछाड गर्छन्। समयको गति पनि कस्तो, हिरोइन बन्ने सपना बोकेकी इष्टु आज एक सफल र चर्चित कन्टेन्ट क्रिएटरको रूपमा स्थापित भएकी छन्। 

नेपालखबरको सो ‘लेट्स टक’मा हामीले उनलाई सोध्यौँ– ‘किन एक रंगकर्मी फुल–टाइम कन्टेन्ट क्रिएटर बन्न पुगिन्?’ 

केहीबेरको मौनतापछि उनको जवाफ थियो, ‘कलाकार बाँचेपछि मात्र कला बाँच्छ। आफू बाँच्नका लागि पैसा चाहिन्छ। थिएटरको कमाइले मात्रै जीवन धान्न गाह्रो थियो। मान्छेको कला त्यतिबेलासम्म मात्र जीवित रहन्छ, जबसम्म ऊ आफैँ जीवित रहन्छ। र, बाँच्नका लागि पैसा अनिवार्य छ। त्यसैले मैले कन्टेन्ट क्रिएसनको बाटो रोजेँ।’

सुरुवाती दिनहरूमा एक्लै क्यामेराको स्ट्यान्ड बोकेर भिडिओ खिच्न हिँड्ने इष्टु आज एक व्यस्त कन्टेन्ट क्रिएटर बनेकी छन्, जसको आफ्नै सिर्जनशील टिम छ। यस्तो लाग्छ, यो उनको लगन, मेहनत र समयको मागलाई बुझ्न सक्ने क्षमताको परिणाम हो।

करिब दुई साताअघि मात्रै उनी आफ्नो जीवनकै पहिलो विदेश भ्रमण टुंग्याएर फर्किइन्। थाइल्यान्ड, सिंगापुर र मलेसिया घुमिन्, त्यो पनि एक्लै। यो एकल भ्रमणपछि आफूमा आत्मविश्वास बढेको महसुस गरेकी छन्। 

भन्छिन्, ‘पहिले बाहिर एक्लै घुम्न जानु एक अनुभव थियो, तर अब म जुनसुकै देशमा पनि सजिलै पुग्न सक्छु भन्ने आत्मविश्वास बढेको छ।’

इष्टु भाइरल ट्रेन्डभन्दा पनि आफ्नो कन्टेन्टलाई आम मानिसको जीवनसँग जोड्न रुचाउँछिन्। 

‘मेरो कन्टेन्टले मान्छेलाई रिलेट गर्नुपर्छ,’ उनी भन्छिन्, ‘सबैको घरमा कन्टेन्ट हुन्छ। त्यो तपाईंको घरमा पनि हुन्छ, मेरो घरमा पनि। मैले घरबाटै कथा बनाएँ, घरबेटीलाई नै जोडेर कथा बनाएँ। दर्शकले रुचाए। त्यही कारण ठूला ब्रान्डको ध्यान खिच्न सकियो भन्ने लाग्छ।’

उनको जीवनमा एउटा महत्त्वपूर्ण मोड तब आयो, जब पठाओ जस्तो ठूलो ब्रान्डले सहकार्यका लागि प्रस्ताव गर्‍यो। 

‘इन्स्टाग्राममा पठाओबाट ‘इष्टुजी, हामी तपाईंसँग कन्टेन्ट बनाउन चाहन्छौँ’ भनेर लामो म्यासेज आयो,’ त्यो क्षण सम्झँदै उनी भन्छिन्, ‘पठाओबाट म्यासेज आउँदा म त एकदमै उत्साहित भएँ। फेक हो कि ओरिजिनल हो भनेर दुई–तीन चोटि प्रोफाइल चेक गरेको याद छ मलाई। मैले हतार–हतार नम्बर पठाइदिएँ।’

त्यो सहकार्यले करिअरलाई नयाँ उचाइ दिएको उनले महसुस गरेकी छन्। 

धेरैलाई थाहा नहुनसक्छ, इष्टुको कलाकारिताप्रति रुचिलाई लिएर सुरुमा उनको परिवार खासै खुसी थिएन। गाउँबाट काठमाडौँ आएपछि उनका बुबाले उनलाई ‘पीआरवाला केटा’सँग बिहे गर्न प्रस्ताव राखेका थिए। विकल्पमा विदेश जाने अवसर पनि थियो। तर, इष्टुलाई दुवै गर्नु थिएन। उनलाई त यहीँ स्थापित हुनु थियो। 

‘त्यहीकारण म दुई वर्ष बुबासँग बोल्दै बोलिनँ,’ इष्टु त्यो कठिन क्षण सम्झिँदै भन्छिन्, ‘बुबाले बिहे गर्ने वा बाहिर जाने दुइटा विकल्प दिनुभएको थियो, तर मैले यहीँ केही गर्छु भनेर अड्डी कसेँ। त्यसपछि दुई वर्ष बोलचाल नै भएन। मैले फेसबुकमा समेत ब्लक गरेको थिएँ। पछि संयोगले गाउँमै नाटक लिएर लानुपर्ने भयो, त्यहीबेला साथीहरूलाई बाउ चिनाउनु पर्ने अवस्था आएपछि बोलचाल सुरु भएको थियो।’

इष्टुका अनुसार अहिले भने उनीहरूको सम्बन्ध साथीको जस्तो छ, पुराना कुरा सम्झेर बेलाबेला हाँसोमजाक पनि चलिरहन्छ। 

इष्टु चर्चासँगै बेलाबेला विवादमा पनि आइरहन्छिन्। इलामको माइपोखरीबारे बनाएको एक ब्लग भाइरल भएपछि उनी एकाएक आलोचनाको तारो बनिन्। क्लिभेज देखाएर तस्बिर खिचेको भन्दै उनलाई ट्रोल र मिम बनाउनेको कमी भएन। अनपेक्षित रुपमा तस्बिर भाइरल भएपछि केही समय त उनलाई सम्हालिन पनि गाह्रो भएको थियो। यद्यपि, ट्रोल र आलोचनाबाट उनी विचलित भइनन्, निरन्तर आफ्नो काममा लागिरहिन्। 

त्यसपछि हालै मात्र थाइल्यान्ड भ्रमणका क्रममा सार्वजनिक भएको उनको बिकिनी तस्बिरले पनि अर्को तहल्का पिट्यो। सामाजिक सञ्जालमा उनीमाथि अनेक टिप्पणी भए। 

‘कतिले त गाउँमा हुर्केको मान्छेले कसरी बिकिनी लगाउन सक्छ’ समेत भने,’ इष्टु भन्छिन्, ‘तर, अब मलाई फरक पर्दैन। सोसल मिडियामा बढी महिला कन्टेन्ट क्रिएटरलाई आलोचनाको तारो बनाइन्छ, यो पुरुषप्रधान समाजको यथार्थ नै हो। त्यस्तै यस्ता आलोचना र ट्रोललाई अब म जीवनको एक हिस्सा मान्न थालेकी छु। प्रायः कमेन्ट त म हेर्दै हेर्दिनँ।’

माइपोखरीको तस्बिरबाट आलोचना भएपछि त्यसको अर्को दिन उनले एउटा सांकेतिक तस्बिर राखेकी थिइन्, जहाँ लेखिएको थियो– ‘माइ बडी, नट योर्स।’ सायद तस्बिरले उतिखेरै बोलिरहेको थियो उनको निडर र स्पष्ट स्वभाव। 

हेर्नुहोस् लेट्स टक, जहाँ इष्टु कार्कीले माइपोखरीदेखि थाइल्यान्डसम्मको तस्बिर विवाद मात्रै होइन, बुबासँगको सम्बन्ध, कन्टेन्ट क्रिएसनको सम्भावना लगायत जीवनका अनेक पाटोबारे खुलेर बोलेकी छन् :

फोटो/भिडिओ : विशाल कार्की 
 

भदौ ६, २०८२ शुक्रबार १९:४९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad