गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम ‘कठघरा’ आउने भएको छ। मूनलाइट मोसन पिक्चर्सले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रम तिहार लगत्तै प्रसारण हुनेछ।
कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग रहनेछन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान र ख्याति कमाएका व्यक्तित्वलाई ‘कठघरा’मा उभ्याउनेछ। यहाँ पाहुनाहरूका जीवन, विचार, योगदान र विवादसम्मलाई खुलेर प्रस्तुत गरिनेछ।
कार्यक्रमको उद्देश्य व्यक्तित्वका उपलब्धि मात्र नभई उनीहरूको सार्वजनिक जीवनसँग गाँसिएका प्रश्न र आलोचनाहरूसमेत निर्भीक ढङ्गले उजागर गर्नु हो। यस कार्यक्रमलाई टीकाराम यात्रीले सञ्चालन गर्नेछन्।
कार्यक्रमको निर्देशन भने निर्देशक अमन प्रताप अधिकारीले गर्नेछन्। ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लग्ड’ जस्ता चर्चित कार्यक्रम निर्देशन गरेर ख्याती कमाएका अधिकारी पछिल्लो समय कविता रियालिटी शो ‘पोएट आइडल’ का निर्देशकका रूपमा सक्रिय छन्।
कार्यक्रमका निर्माता सन्तोष भण्डारी रहेका छन्। उनले यो कार्यक्रमलाई दर्शकसम्म शक्तिशाली प्रस्तुतिका साथ पुर्याउने विश्वास व्यक्त गरेका छन्। ‘कठघरा’ एपि वन टेलिभिजनमार्फत प्रसारण हुनेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
Shares

प्रतिक्रिया