कला


बुसान फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘रिहाना’ को वर्ल्ड प्रिमियर हुने

बुसान फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘रिहाना’ को वर्ल्ड प्रिमियर हुने

नेपालखबर
भदौ १५, २०८२ आइतबार १४:२०, काठमाडौँ

दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘रिहाना’ को वर्ल्ड प्रिमियर हुने भएको भएको छ। यस वर्षको यस प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपालबाट एकमात्र फिल्म ‘रिहाना’ सहभागी हुन थालेको हो। 

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताए। उनले भने, ‘नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ।’

चलचित्रलाई 'अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ।

चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्। शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्।

यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ। विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई 'एसियाको क्यान्स' पनि भनिन्छ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठूलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad