आउँदो दसैँमा बक्सअफिसमा नेपाली ३ नेपाली फिल्मबीच ठूलो भिडन्त हुँदैछ। किनकी फूलपातीदेखि रोहित अधिकारीको ‘माइतीघर’, सन्तोष सेनको ‘बलिदान’, हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ एकसाथ भिड्दैछन्।
प्रदर्शन मिति नजिकिएसँगै सामाजिक सञ्जालमा फिल्मका निर्माता र फ्यानबीच पनि भिडन्त सुरू भएको छ। फिल्म निर्मातासहित फ्यानहरूबीच सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन्।
गतवर्षझै यस वर्षपनि फिल्ममेकरहरु एकअर्काप्रति सामाजिक सञ्जालमा आरोप प्रत्यारोप लगाउन थालेका छन्। विशेषगरि, माइतीघर र बलिदानका निर्माताहरूबीच एकअर्काप्रति गालिगलौत व्यक्त गरेको देखिन्छ।
‘माइतीघर’का निर्माता रोहित अधिकारीले सोमबार एक स्टाट्स लेखे। स्क्रिनसट सार्वजनिक गर्दैं उनले आफ्नो फिल्मविरुद्ध सामाजिक संजालमा भैरहेका टिप्पणीलाई लक्षित गर्दै फेसबुकमार्फत कानूनी उपचार खोज्ने चेतावनी दिएका थिए। नाम उल्लेख नगरेपनि सामाजिक संजालमा टिप्पणी गर्ने समूहका नाइकेलाई नछाड्ने उनको भनाइ थियो।
सोहीबीच मंगलबार बिहान कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले दुइ स्टाट्स लेखे। पहिलो स्टाटसमा गिरीले आफ्नो फिल्मको प्रचार गर्नुको साटो गालीगलौज बन्द गर्न आग्रह गरेका छन्। ‘आफ्नो हिरो बाघ, अरुको स्याल ! याद गरौं बाघ पनि जनावर नै हो’
गिरीको यस स्टाट्स आएलगत्तै ‘बलिदान’ का निर्माता सेनले कमेन्ट गरे। ‘कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु, मैले आजसम्म कहिल्यै अरुलाई गिराएर आफैलाई अगाडि बढ्ने पापी सोच पालेको छैन’ उनले लेखेका छन्, ‘यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने मैले बलिदानको सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु- यसै क्षण मेरो जीवन अन्त्य होस्।’
निर्माता गिरीले आफ्नो स्टाट्समा उल्लेख भएको ‘बाघ’ विराज भट्टका छोरा समीरतर्फ लक्षित गरेको अनुमान गर्न सकिन्छ। किनभने समीरलाई ‘बाघ’ को ट्याग दिँदै आइएको छ।
गतवर्ष दीपकराजको ‘छक्का पञ्जा ५’ र समीरको फिल्म ‘१२ गाउँ’ एकसाथ भिडेका थिए। त्यतिबेला आफ्नो फिल्मविरुद्ध साइबर हमला भएको गिरीले प्रतिक्रिया दिएका थिए।
त्यसपछि फेरि गिरीले दोस्रो स्टाट्स लेख्न भ्याए। उनले दोस्रो स्टाट्समा लेखेका छन्, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले। विचरो न त ब्यंग्य बुझछ। न त बौद्धिकता थाहा छ। बुरुक्क बुरुक्क साँढे झैं उफ्रिन्छ। माया लाग्छ।’
गिरीका दुबै स्टाट्सलाई निर्माता अधिकारीले सेयर गरेका छन्।
तर, दीपकले कमेन्ट डिलिट गरेपछी सेनले आफ्नो टाइमलाइनमै दीपकलाई मेन्सन गर्दै सोचमै पाप रहेको बताएका छन्।
‘तिम्रो सोचमै पाप छ। कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर। यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ। त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन। हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?,’उनले प्रश्न गरेका छन्।
तर, यसविषयमा ‘हरिबहादुरको जुत्ता’ टिमले भने कसैप्रति गालीगलौच गरेको देखिँदैन। सोमबार मात्रै फिल्मका मुख्य कलाकार हरिवंश आचार्यले फिल्म जुध्नु सामान्य कुरा भएको प्रतिक्रिया दिएका थिए।
Shares

प्रतिक्रिया