कैलालीको गेटा अस्पतालबाट अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिल समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।
उनका सहयोगीसमेत रहेका डा अमृत जैशीका अनुसार केसीको शरीरमा ग्लुकोजको मात्र घटेको, मान्शपेसी बाउँडिने, टाउको दुख्ने लगायत समस्या देखिएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनले आजै अनशन तोड्ने तयारी गरेका छन्।
डा जैशीका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा २० पुगिसकेको छ। केसीले चिकित्सा शिक्षाको सुधार माग गर्दै आइतबारदेखि सत्याग्रह सुरु गरेका थिए।
‘गुणस्तरीय, निस्शुल्क र सस्तो स्वास्थ्य सेवा तथा शिक्षा सबै नेपालीको अधिकार हो। तर, सरकार र आयोगले निजी मेडिकल कलेजलाई फाइदा पुग्नेगरी गरिएको सिट वृद्धि गैरजिम्मेवार निर्णय हो। यसले शिक्षा मात्र होइन, स्वास्थ्य सेवाको गुणस्तरमै दीर्घकालीन असर पार्छ,’ डा केसीले जारी गरेको विज्ञप्तीमा भनिएको थियो।
उनले इलाम, उदयपुर र डडेलधुरामा सरकारसँग भएका सम्झौता अनुसार मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, पाँच वर्षअघि निर्माण सम्पन्न भए पनि कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन्। साथै, निजी मेडिकल कलेजलाई मनपरी सिट वितरण रोक्नुपर्ने उनको माग छ।
डा केसीले प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको नेतृत्वमा बनेका सरकारहरू निजी मेडिकल कलेजलाई संरक्षण गर्न उद्यत रहेको आरोप लगाएका छन्।
त्रिवि शिक्षण अस्पतालले १०० जना एमबीबीएस विद्यार्थी भर्ना गर्न पूर्वाधार नपुग्ने भनिरहकै बेला कम पूर्वाधार भएका निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया