काठमाडौँ उपत्यकामा भदौ २८ र २९ गते (सेप्टेम्बर १३-१४) ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदैछ। महाेत्सवमा देशविदेशका साहित्यकार, गायक, संगीतकार, कलाकार र कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्।
कार्यक्रमको दोस्रो दिन भदौ २९ गते उत्सवमा चर्चित भारतीय अभिनेता एवं निर्देशक अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले संवाद गर्ने भएका छन्। पालेकर र गोखले श्रीमानश्रीमती हुन्। सेसन दिउँसो १२ः१० देखि १ बजेसम्म चल्नेछ। ‘लाइफ इन फ्रेम: अमोल पालेकर’ शीर्षकको यस विशेष सत्रमा पालेकर र गोखलको जीवनयात्रा, कला र सिर्जनाबारे संवाद हुनेछ।
७०/८० को दशकमा हिट सिनेमा दिएका पालेकर सादगीपूर्ण अभिनय र निर्देशनका कारण चर्चित छन्। सन् १९६७ मा थिएटरबाट अभिनय यात्रा थालनी गरेका पालेकरले मराठीसहित हिन्दी सिनेमामा समेत काम गरेका छन्।
रजनीगंधा, गोलमाल, छोटी सी बात, भूमिका, सफेद, झूट, बातों बातों में, बात बनजाए, अक्रिट, नरम गरम, तेस्रा कानुनलगायत दर्जनौँ फिल्ममा काम गरेका छन्। उनलाई गोलमाल, अक्रिट र भूमिका फिल्मबाट फिल्मफेयर अवार्ड पाएका थिए।
पालेकरले अक्रिट, आँखें, दायरा, थोडा सा रुमानी हो जाए, आहट, क्विस्टलगायत फिल्म निर्देशन समेत गरेका छन्। यस्तै सन्ध्या गोखलेले पहेली, समान्तर, वि आर अन, १९४२ः अ लभ स्टोरीलगायत फिल्म लेखेकी छन्।
बुद्धिसागर कर्णाली ब्लुज, फिरफिरे, एक्लोजस्ता चर्चित उपन्यासका लेखक हुन् भने उनको ‘बुद्धिसागरका कविताहरु’ पुस्तक पनि प्रकाशित छ।
यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन् । उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन् ।
यस संस्करणको मूल विषय ‘सीमापारिः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ।
महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।
Shares

प्रतिक्रिया