कला


‘परान’ को नयाँ पोस्टरमा यस्तो देखिए नीर शाह

‘परान’ को नयाँ पोस्टरमा यस्तो देखिए नीर शाह

नेपालखबर
असोज ६, २०८२ सोमबार १५:९, काठमाडौँ

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। 

यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव झल्किन्छ। जुन दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। 

‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ । जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ।  फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।

नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ।

निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको संगीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन् । 

यो फिल्म तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि प्रदर्शनमा आउनेछ। निर्माण टिमले आगामी फुलपातीको अघिल्लो दिन आइतबार फिल्ममा समावेश एक गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad