हिन्दीमा भन्ने गरिन्छ, 'चलचित्र तीन कुराले चल्छन्- इन्टरटेनमेन्ट, इन्टरटेनमेन्ट र इन्टरटेन्मेन्ट।' अर्थात् कुनै पनि चलचित्रको मूल उदेश्य भनेको मनोरञ्जन हो। यदि मनोरञ्जनका साथै कुनै ज्ञानवर्द्धक प्रस्तुति पनि भयो भने त झन् सुनमा सुगन्ध नै थपिन्छ। तर अर्को सत्य यो पनि हो कि सुगन्ध नहुँदैमा सुनको अस्तित्व कम चाहिँ हुँदैन।
हालै प्रदर्शनमा आएको चलचित्र हरिबहादुरको जुत्ताले अहिले नेपाली सिनेमा बजारमा तहल्का मच्चाइरहेको छ। अहिलेको समाजमा युवा शक्तिको भूमिका तथा राजनीतिमा देखिएको परिवारवादलाई मूल कथाको रुपमा चित्रण गरिनु र नेपाली हास्यव्यंग्य क्षेत्रमा निखारिएका कलाकारहरूको समायोजन गर्नु नै हरिबहादुरको जुत्ताको सफलताको साँचो हो।
साथै यस चलचित्रमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, मोहित आचार्य तथा प्रकाश सपुत लगायत सबै कलाकारको राम्रो अभिनय र तालमेल देख्न सकिन्छ।
हरिबहादुरसँग हामी चिरपरिचित छौँ। हामीले देखेको हरिबहादुर निकै चतुर, फटाहा र ठग प्रवृत्तिको मान्छे हो। अग्लो, मोटो, नाकमा कोठी भएको वाक्यै पिछे 'त्यसो गरे कसो होला' भन्ने एक अचम्मको पात्र हो हरिबहादुर। तर यस चलचित्रमा हामीले देख्ने नौलो पात्र हो, हरिबहादुरको जुत्ता।
सुन्दा अचम्म लाग्ला तर यस चलचित्रमा हरिबहादुरको जुत्ताको पनि उल्लेखनीय भूमिका छ। सुरुमा हरिबहादुरलाई आफ्नो जुत्तासँग भावनात्मक लगाव भए पनि, पछि विकसित घटनाक्रममा उक्त जुत्ता नै हरिबहादुरको फसादको कारण बन्छ, जसले गर्दा हरिबहादुरलाई आफ्नै जुत्ताप्रति वितृष्णा हुन जान्छ।
कोही मान्छे कतिसम्म ठग हुन सक्छ, ठग्नलाई कस्तोकस्तो जुक्ति निकाल्न सक्छ। कहिलेकाहीँ लाग्छ, हरिबहादुरले ठग्नलाई जति बुद्धि लगाउँछ, त्यति बुद्धि चाहिने काममा लगाउने हो भने ऊ कति सफल भैसक्थ्यो होला। तर हरिबहादुर र समाज जसलाई उसले ठग्यो, उनीहरूप्रति कथाले अन्याय हुन भने दिएका छैन। हरिबहादुरले जतिजति ठग्यो, उसले त्यसको किमत पनि चुकाउँदै गयो। अरूलाई ढाँटेर कमाएको सम्पत्ति धेरै टिक्दैन भनेझैँ जति चोरे पनि हरिबहादुर सधैँ अभावमै रह्यो।
मानिस चाहे चोर होस् वा सज्जन, आफ्नो परिवार तथा सन्तान उसको पहिलो प्राथमिकता हुन्छ। तर समाजको लागि खलपात्र बनेको हरिबहादुर आफ्नो पारिवारिक भूमिका पूरा गर्न कत्तिको सफल भयो भन्ने प्रश्नको उत्तर यस चलचित्रले दिएको छ।
केही प्राविधिक तथा केही कथागत त्रुटि यस चलचित्रमा पनि छन्। जुन चलचित्रको दृष्टिकोणबाट स्वाभाविक हुन्। तर त्यसले चलचित्रको आशय र भावमा केही प्रभाव भने पारेको छैन। त्यसैले हरिबहादुरको जुत्ता मनोरञ्जन र केही हदसम्म चेतनामूलक चलचित्र हो।
यस चलचित्रको अर्को सबल पक्ष भनेको हाम्रो समाजले विगतदेखि भोगिआएको राजनीतिक बेथितिका घटनालाई केही रोचक ढंगले प्रस्तुत गर्नु र देशमै रोजगारी सिर्जना गर्न आफूसँग भएको सीपको सदुपयोग गर भन्ने सन्देश दिनु हो। त्यसकारण समसामयिक कथावस्तुलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्न सफल 'हरिबहादुरको जुत्ता' सबैले एकपटक हेर्नैपर्ने चलचित्र हो।
Shares

प्रतिक्रिया