असोज १३ गते फूलपातीबाट रिलिज भएका तीन नेपाली फिल्महरू प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्। दसैंको अवसरमा रिलिज भएका बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर आजबाट तेस्रो सातामा हलमा प्रदर्शनरत छन्।
यी तीन फिल्मले बक्सअफिसमा कूल १२ करोड ५६ लाख रुपैयाँ व्यापार गरेका छन्। चलचित्र विकास बोर्डका अनुसार गत शनिबार राति १३ औँ दिनसम्मको कमाइ हो।
जसमध्ये ४ करोड ८० लाख कमाउँदै ‘बलिदान’ अग्रस्थानमा छ। त्यसैगरि, ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ३२ लाखको व्यापार गर्दा ‘माइतीघर’ ले भने ३ करोड ४४ लाख कलेक्सन गरेको छ।
सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्टको मुख्य भूमिका छ। मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्।
त्यसैगरि, दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिका खड्का, प्रकाश सपुतको लिड रोल छ।
Shares

प्रतिक्रिया