कला


'परान'  बारे अञ्जना बराईली: विषयवस्तुका कारण यो फिल्म रोजेँ

'परान'  बारे अञ्जना बराईली: विषयवस्तुका कारण यो फिल्म रोजेँ

नेपालखबर
असोज ३०, २०८२ बिहिबार २१:१७, काठमाडौँ

पारिवारिक विषयवस्तुमा बनेको फिल्म ‘परान’ कार्तिक १४ गते रिलिज हुँदैछ। यस फिल्मको शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन्। फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ।

मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन्। योसँगै उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताउँछिन् ।

‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु। डबिङको समयमा नै मैले यो फिल्म त दशैंमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिन।’

अञ्जनाका अनुसार दशैं–तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले, दशैंमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाहरूका लागि उपयुक्त भएकै कारण उनले निर्माण पक्षलाई दशैंमै फिल्म रिलिज गर्न सुझाव दिइन्। ‘जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो। तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं,’ उनले भनिन्।

यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ। उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ। फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ।

उनले आफ्नो पात्रका बारेमा भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। मेरो पात्र एकदमै यादगार हुने देख्छु। मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु। पात्र बलियो भएकैले म यसरी प्रचारमा हिँडिरहेकी छु।’

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्। देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad