कला


धनगढीमा हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’बारे परिचर्चा

धनगढीमा हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’बारे परिचर्चा

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १२:२३, काठमाडौँ

कवि हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’बारे कैलालीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। केही दिनअघि कैलाली जनपुस्तकालयद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिमका अग्रज र नयाँ पुस्ताका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा कवि शिशिरको जीवन–व्यक्तित्व र साहित्यिक यात्राका विषयमा साहित्यकार जनक रसिकले विस्तृत रूपमा प्रकाश पारेका थिए। त्यस्तै, ‘बन्द कोठाको झ्याल’मा प्रयोग भएका बिम्ब, प्रतीक र शैलीगत प्रयोगबारे सैद्धान्तिक टिप्पणी गर्दै डा. तुलसी शर्माले कवितासंग्रहलाई आधुनिक नेपाली कविताको संवेदनशील कडीका रूपमा व्याख्या गरिन्।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्कर भट्टले कवि शिशिरका कवितामा युवापुस्ताको यथार्थ र विद्रोही चेतनाको प्रतिबिम्ब देखिएको उल्लेख गर्दै यस्ता सिर्जनाहरूले समाजलाई आत्ममूल्यांकन गर्न प्रेरणा दिने सुनाए। विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशीले कविताको सैद्धान्तिक तथा शिल्पगत पक्षबारे आफ्ना विचार राखेका थिए।

कवितासंग्रहका केही कविताहरू कवि कल्पना जोशी, कवि खेम बतास र गोविन्द अवस्थीले वाचन गरेका थिए। कार्यक्रममा सहभागिहरूले पनि कवितासंग्रहका विषयवस्तु र भाव–संवेदनाबारे आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सभापतित्व गरेका संस्थाका अध्यक्ष शिवराज ओझाले कवि हेमन्त शिशिरको सिर्जनाले सुदूरपश्चिमको साहित्यिक चेतना अझ सशक्त बनाएको उल्लेख गर्दै यस्ता परिचर्चाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव सुवास भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष टंकप्रसाद जोशीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad