पछिल्लो समय नेपाली सिनेक्षेत्रमा विदेशमा जन्मे-हुर्केका कलाकारको दबदबा देखिन्छ। मिरुना मगरदेखि सृष्टि श्रेष्ठ अनि धिरज मगरदेखि जसिता गुरुङसम्मका कलाकार राम्रै जमेका छन्। यही सूचीमा थपिएको एउटा नयाँ नाम हो: समृद्धि अर्याल।
हङकङमै जन्मे-हुर्केकी हुन् समृद्धि। उनले गतवर्ष रिलिज भएको ‘फर्की फर्की’बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्। सहायक भूमिकामा देखिए पनि डेब्यु फिल्मबाटै समृद्धिको तारिफ भएको थियो। त्यसैले त दोस्रो फिल्ममै उनले मुख्य भूमिकामा देखिने अवसर पाइन्।
पहिलोपल्ट उनको लिड रोल रहेको फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेबाट रिलिज हुँदैछ। जसमा समृद्धिले चर्चित कलाकार दयाहाङ राई र विजय बरालसँग स्क्रिन सेयर गरेकी छिन्। पहिलोपल्ट मुख्य भूमिका, त्यसमाथि अनुभवी कलाकारसँग काम। समृद्धि उत्साहसँगै दबाब महसुस गरिरहेकी छन्।
‘पहिलोपटक मुख्य भूमिका भएकाले प्रेसर फिल भएको छ। त्यसमाथि दयाहाङ राई र विजय बरालजस्तो अनुभवी कलाकारसँग काम गर्न पाएको छु। उहाँहरूसँग काम गर्दा दर्शकहरूले तुलना गर्नुहुन्छ, मेरो नराम्रो देखिन्छ होला भनेर हल्का डर पनि लागिरहेको छ। तर, आफ्नो काममा नि भरोसा छ। विजयजीले मलाई निकै सहयोग गर्नुभएको थियो। उत्साहित पनि छु,’ उनले भनिन्।

समृद्धिलाई ‘वरिष्ठ बलराम’का निर्देशक सुरेन्द्र पौडेलले फिल्म अफर गरेका थिए। खासमा पौडेल ‘फर्की फर्की’को एडिटर थिए। समृद्धिको काम देखेपछि पौडेलले आफ्नै फिल्ममा उनलाई अफर गरे।
मुख्य भूमिकाको अफर आएपछि निकै खुसी भइन् उनी। तर, को-एक्टरको नाम सुनेपछि भने निकै डर लागेको उनको भनाइ छ।
भन्छिन्, ‘उहाँहरूको नाम सुन्दा एकदमै डर लागेको थियो। उहाँहरूको १५ वर्ष बढी अनुभव थियो। मेरो दोस्रो फिल्म भयो। सेटमा उहाँहरूसँग उभिएर एक्टिङ गर्न सक्छु कि सक्दिनँ भन्ने भएको थियो। तर, निर्देशकले ममाथि भरोसा गर्नुभयो। अनि अनुभवी एक्टरसँग मैले केही सिक्न पाउँछु कि भनेर स्क्रिप्ट सुन्दा नै मैले हुन्छ भनेँ।’
भिडिओ :
फिल्ममा समृद्धि विजयको जोडीको रूपमा देखिएकी छिन्। विजय निकै सहयोगी हुँदा काम गर्न सहज भएको र धेरै कुरा सिक्न पनि पाएको उनको अनुभव छ।
‘धेरैजसो मेरो स्क्रिन टाइम विजयजीसँग छ। दयाजीसँग चाहिँ छैन। विजयजी एकदमै मिल्ने खालको हुनुहुन्छ। हुन त उहाँ मजति टाइम लगाउनुहुन्न। मैले १० मिनेट लगाउँछु भने उहाँले एकमिनेट नि लगाउनुहुन्न। तर, उहाँले डाइलग डेलिभरी गर्नेदेखि अभिनयमा निकै सघाउनुभयो,’ अर्यालले भनिन्, ‘उहाँले आफ्नो संघर्ष सुनाउनुहुन्थ्यो। कति संघर्ष गरेर यहाँसम्म पुग्नुभएको रहेछ। अहिले त हामीलाई जे पनि फास्ट चाहिन्छ। उहाँको कथा र जीवन अनुभव सुनेर धैर्य चाहिने रहेछ र हार मान्नु हुन्न रहेछ भन्ने सिक्न पाएँ।’

मुम्बईमा अभिनय अध्ययन
२० वर्षदेखि समृद्धिकी आमा हङकङमा सलुन चलाउँछिन्। हङकङमा हुने अवार्ड समारोह वा कार्यक्रममा गएका नेपाली कलाकारहरू त्यहाँ पुगिरहेका हुन्छन्। जहाँ पहिलोपल्ट समृद्धिले नेपाली कलाकार देख्न पाएकी थिइन्। नम्रता श्रेष्ठ, अनमोल केसी जस्ता कलाकार देखेको सुनाइन्।
सलुनमा कलाकारलाई देख्दा आमा संगीता छोरीलाई पनि कलाकारितामै आएको देख्न चाहन्थिन्। सोहीबेला उनले फिल्मको अफर आएको छ, फिल्म खेल्न मन छ भन्दै छोरीलाई सोधिन्।
त्यतिबेला समृद्धि जम्मा १६ वर्षकी थिइन्। न उनलाई राम्रोसँग नेपाली बोल्न आउँथ्यो, न आत्मविश्वास नै थियो। त्यही कारण इच्छा भए पनि आफू तयार नभएको जवाफ दिइन्।
संगीताले छोरीलाई मोडलिङ स्कुलमा भर्ना गरिदिइन्। त्यसपछि समृद्धिमा आत्मविश्वास बढ्दै गयो। बुवाले भने मोडलिङभन्दा पनि अभिनय पढ्न सुझाए।
त्यसपछि सुरू भयो समृद्धिको यात्रा। भारतको मुम्बईमा रहेको विस्लिङ उड्स इन्स्टिच्युटमा उनले तीन वर्ष अभिनय पढिन्। जहाँ उनी मोडलिङ एजेन्सीमा आबद्ध पनि भइन्। विभिन्न ब्रान्डका विज्ञापनमा मोडलिङ गरिन्। साथसाथै केही म्युजिक भिडिओ र सर्ट फिल्ममा पनि काम गरिन्। जसले उनमा अभिनयप्रतिको लगाव झनै बढ्दै गयो।
कोर्स सकिएपछि समृद्धि आमालाई भेट्न नेपाली आएकी थिइन्। त्यसैबेला उनकी आमाले फर्की फर्कीको अडिसन चलेको भन्दै सहभागी हुन सुझाइन्। अडिसन दिएपछि समृद्धि छनोट भइन्। यस फिल्ममा अनमोल केसी मुख्य भूमिकामा थिए। आफूलाई मन पर्ने अभिनेताकै फिल्ममा डेब्यु गर्न पाउँदा फुरुङ्ग भइन् उनी।
‘सुरुमा मनपरेको नेपाली अभिनेता अनमोल केसी नै हुनुहुन्थ्यो। अवार्ड सोमा भेटेपछि उहाँ निकै राम्रो लाग्नुभयो। त्यसपछि थाहा पाएँ, उहाँ चलेको हिरो भनेर। पहिलो फिल्म नै अनमोलसँग गर्न पाउँदा निकै लक्की फिल गरेकी थिएँ,’ उनले भनिन्।
पहिलो फिल्म खेलेपछि समृद्धिले नेपाली फिल्मको माहोल फरक पाइन्। समय कम हुँदा पूर्ण तयारी नहुने सुनाउँछिन् उनी।

दुवै फिल्ममा लभरगर्ल बनेकी समृद्धिलाई अरू पात्रमा पनि देखिन मन छ।
‘एउटा आत्मनिर्भर महिलाको जीवनमा धेरै कुरा हुन सक्छन्। लभरगर्ल मात्रै होइन। हामी महिलाहरू माया मात्रै गरेर त बस्दैनौँ नि। कति घटनाहरू घटिरहेका हुन्छन्। त्यो सबै स्टोरीको पात्र बन्न पाउँदा रमाइलो हुन्छ।’
यतिखेर फिल्म ‘वरिष्ठ बलराम’मा समावेश ‘न्याउली वनैमा’ गीत टिकटकसहितका सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। समृद्धिले गरेका नृत्यका स्टेपहरू भाइरल छन्। जुन स्टेप गर्न २० दिनबढी समय लागेको समृद्धिले खुलाइन्।
‘धेरैले टिकटक बनाइरहनुभएको छ, राम्रो लागिरहेको छ। डान्सका स्टेपहरू भाइरल छन्। न्याउली वनैमा स्टेप गर्न निकै गाह्रो भएको थियो। सुरूमा गर्दिनँ भनेकी थिएँ। किनकि नेपाली डान्स पहिलोपल्ट गर्दै थिएँ। स्टेप पक्रिन २० दिन लागेको थियो। पहिलोचोटि भएकाले निकै गाह्रो भयो। तर, अहिले यसरी हिट हुँदा रमाइलो लागिरहेको छ।’

समृद्धिको करिअरका लागि यो फिल्म निकै महत्त्वपूर्ण छ।
‘मेरो पहिलो लिड फिल्ममा धेरै मेहनत गरेको छु। दर्शकहरूले हेरिदिनुहोला। अगाडि गएर सुधार गर्न चाहन्छु। त्यसैले हेरेर प्रतिक्रिया दिनुहोला,’ उनले भनिन्, ‘करिअरको लागि पनि यो फिल्म महत्त्वपूर्ण छ। फर्की फर्कीबाट अफर आएको भनेको यही एउटा हो। बिजनेसको हिसाबले पछि सोचुँला।’
यसै क्षेत्रमा लामो समय काम गर्ने उनको योजना छ।
भिडिओ :
Shares

प्रतिक्रिया