कला


बेलायतमा दुर्गेश थापाको साङ्गीतिक यात्रा

बेलायतमा दुर्गेश थापाको साङ्गीतिक यात्रा

राम थापा/रासस
कात्तिक ७, २०८२ शुक्रबार ९:२५, काठमाडौँ

दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिंदै छन्।

गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ। ‘आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिंदैछु’, गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहेका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ।’

यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडो लगायत सहरमा प्रस्तुति दिंदै छन्। उसो त देशविदेशका साङ्गीतिक कार्यक्रममा उनको दौड़धुप गत वर्षदेखि नै बढेको हो।

गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को सफलताले आफ्नो साङ्गीतिक ‘करिअर’ नै नयाँ मोड दिन पुगेको गायक थापाले बताउँछन्।

उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएकोरसुनिएको छ। गीत युट्युब ट्रेन्डिङ्को पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङ्मासमेत परेको थियो। गीतको सफलताले भावुक र खुसी सँगसँगै भएका गायक थापाले त्योबेला भनेका थिए, ‘भगवानरूपी दर्शकरस्रोताले दिएको यो सम्मान भ्यूजको सङ्ख्या मात्र होइन, यो सपना पूरा भएको क्षण हो।’

‘दुश्मन हेरेको हेरै’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन्। गीतको सङ्गीत संयोजन पनि उनले नै गरेका हुन्।

गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामा लगायतका अभियन छ। उक्त गीत आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताए। ‘यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ’, उनले भने।

थापाको पछिल्लो गीत ‘जाने भए जाममाया’ पनि गीत चर्चित छ। ‘दुश्मन हेरैको हेरै गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ’, गायक थापाले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्ताका कारण समय दिन सकिरहेको छैन।’

अमेरिकापछि क्यानाडा र युरोपको साङ्गीतिक यात्रा तय हुन लागेको उनले बताए। यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उनले बताए।

पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेलामहोत्सवमा उाको माग बढेको छ। गत हिउँदमा उनलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो।

गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिएका थिए। ‘सधैँ म यो स्थानमा रहन सक्दिनँ, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ’, उनले भने, ‘तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु।’

सयौं गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा‘’लगायत गीत चर्चित छन्। थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन्। थापाले आधुनिक, लोकदोहोरी, पप लगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन्। ‘डाँडै बिसौनी’, ‘जूनले मात्र देख्छ’, ‘हाँस्न सिकायौं’लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन्।

पहिलोपटक दीपकरदीपाको चलचित्र ‘छ माया छपक्कै’मा प्रोमोशनल गीत गाएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो’ गीत पनि चर्चित बनेको थियो।

‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन्। उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन्। थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’ का रूपमा आफूलाई चिनाउन चाहन्छन्। करिअरको सुरुआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा पोख्त छन्।

विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताए। १९ वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरू गुजारेका उनी सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन्। युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन्।

विसं २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग एउटा सपना थियो, मोडल बन्ने। समयक्रममा उनी अभिनय हुँदै गायनतिर डोरिए। गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका उनको एक अपरिचित सहरमा सङ्घर्ष सुरु भएको थियो।

काठमाडौं जस्तो सपनाको सहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन् तर उनले बाधाहरू सजिलै छेके, रोके र पहिल्याए आफ्नो सत्मार्ग।

‘अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौं आएको हुँ, कलाकारितामा मलाई तातेताते गराएको उहाँले नै हो’, दुर्गेशले भने, ‘एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु।’

विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए। पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो’ गाएका थिए। थापाले केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गरेका थिए।

काठमाडौँका अस्पताल पुगेर घाइतेलाई भेटेका उनले ‘जेनजी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिएका थिए। उनले पहिलो चरणमा ‘जेनजी’ आन्दोलनका घाइते ११ जनालाई दस हजार रूपैयाँका दरले उपचार सहयोग प्रदान गरेका हुन्। गायक थापाले आफू सधैं ‘जेनजी’ युवाहरूको पक्षमा रहेका बताए। ‘जेनजी’ युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad