कला


कार्म, मेनुका र परीक्षालाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा

कार्म, मेनुका र परीक्षालाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १२:५०, काठमाडौँ

फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा भएको छ। काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गर्दै ‘हिमालयन गोल्ड’ निर्माण घोषणा गरिएको हो। छायाँलय फिल्म्सले ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बनाउन लागेकाे फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुनेछ।

फिल्म हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित हुनेछ। यस फिल्ममा परिक्षा लिम्बु, कार्म, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायतको अभिनय रहने छ।

फिल्मले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्नेछ। सन् १९९२ को पृष्ठभूमिमा तयार गरिएको फिल्ममा एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहकाे सामना गर्नुपरेपछि सुरु हुने संघर्षको कथा पर्दामा प्रस्तुत गर्नेछ। यार्सागुम्बालाई औषधीय गुणकाे कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिन्छ।

फिल्ममा हिमालय क्षेत्रलाई केवल दृश्य पृष्ठभूमि नभई एक जीवित पात्रका रूपमा चित्रण गरिने निर्माण पक्षले सिनेमा घोषणा गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। फिल्ममा लेखन र निर्देशन धिराज राजवंशीले गर्नेछन्।

राजवंशी लस एन्जलस फिल्म स्कूलका स्नातक हुन्। यो उनको पहिलो फिचर निर्देशन हो। छायाँलय फिल्म्सले नयाँ दृष्टिकोण र साहसिक सोचका कारण उनलाई निर्देशनको जिम्मेवारी सुम्पिएको जनाएको छ।

फिल्मको छायांकन मुम्बईमा ‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता सिनेमामा काम गरिसकेका चर्चित छायाकार वशिष्ठ प्रधानले गर्ने भएका छन्। कम्पनीका अनुसार ‘हिमालयन गोल्ड’ नेपाली माटोमा रोपिएको तर विश्वस्तरीय दृष्टिकोणमा सुनिने कथा बन्नेछ।

फिल्मका लेखक–निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताए। फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना बोकेको निर्माण टिमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad