अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। गत असोज ३१ गतेबाट रिलिज भएको यस फिल्मले दुइ सातामा १० करोडको आकंडा पार गरेको निर्माता सरोज न्यौपानेले जानकारी दिए।
‘फिल्मले दर्शकहरूको निकै राम्रो साथ पाइरहेको छ। नेपालमा मात्रै १० करोडको आकंडा पार गरिसकेको छ। १० करोड पुगेको अवसरमा भोलि सेलिब्रेसन गर्ने तयारी समेत छ,’उनले भने।
निर्माताले १० करोड ग्रस कलेक्सन गरेको दाबी गरेपनि चलचित्र विकास बोर्डले भने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन। बोर्डको तथ्यांकअनुसार गत शनिबारसम्म यस फिल्मले नेपालभर ६ करोड ५१ लाख ग्रस कलेक्सन गरिसकेको थियो।
योसँगै ‘जेरी अन टप’ अनमोल केसीको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। किनकी हालसम्म अनमोलले खेलेका कुनै पनि फिल्मले यो आकंढा पार गरेका थिएनन्।
‘होस्टेल’ बाट डेब्यु गरेका अनमोलले पहिलो फिल्मबाटै चर्चा कमाएका थिए। त्यसपछि उनले जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३ लगायतका फिल्महरू बक्सअफिसमा सफल भएका थिए। जसमध्ये उनको सर्वाधिक कमाउने फिल्मको सूचिमा ‘ए मेरो हजुर ३’ थियो।
जसले ७ करोड रूपैयाँ हाराहारी कमाएको थियो। यद्यपि, विकिपिडियामा भने फिल्मको ग्रस कमाइ ८ करोड ८० लाख उल्लेख छ। जुन ग्रस कलेक्सनलाई ‘जेरी अन टप’ ले उछिनेको छ।
सुयोग गुरुङको निर्देशित यस फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।
Shares

प्रतिक्रिया