यस वर्षको बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
यसअघि रिलिजको पूर्वसन्ध्यामा बिहीबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति थियो। प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बू संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए।
यो सिनेमाले माओवादी जनयुद्धताका कसरी धर्म-संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित अतिथिले दिएका थिए।
सिनेमा हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपकप्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारीलगायत कलाकार पुगेका थिए।
'जारी २' टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा बिग मुभिज पुगेका थिए। विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बू संस्कृति झल्किने ड्रेसअपले धेरैको ध्यान तानेको थियो। कलाकारहरूको टिम च्याब्रुङ बजाउँदै नाचेको थियो।
यो सिनेमा हेर्न विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन्।
उनले सिनेमा हेरिसकेपछि सञ्चारमाध्यमसँग भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिएँ। आज दोस्रो भाग पनि हेर्न पाएँ। निकै खुसी लाग्यो। यो सिनेमाले राम्रो सन्देश दिएको छ। त्यसमाथि पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ। जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनुभएको छ । मलाई मन पर्यो। दर्शकलाई पनि मन पर्ने छ। सबैले एकपटक हुर्नुहोला।’
उपेन्द्र सुब्बा लेखन तथा निर्देशन रहेको सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।
Shares

प्रतिक्रिया