कला


कथा बरालिँदा बिँडो थाम्न असफल बनेको ‘जारी २’

कथा बरालिँदा बिँडो थाम्न असफल बनेको ‘जारी २’

लक्ष्मी बलायर
कात्तिक २४, २०८२ सोमबार १६:५२, काठमाडौँ

कहिलेकाहीँ टुटेका सम्बन्धहरू जोडिन्छन्। फिल्म ‘जारी’को अन्त्यतिर नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना मगर) मिलेझैँ। त्यसपछि हाङ्मा माइतबाट घर फर्किन्छन्। उनीहरूकी छोरी जन्मिएसँगै कथाले बिट मार्छ।

अब उनीहरूको जीवन कसरी अगाडि बढ्ला? ‘जारी’ हेरेका दर्शकहरूमा यो प्रश्न उब्जेको हुनुपर्छ। त्यसको जवाफ दर्शकहरूले गत शुक्रबारदेखि थाहा पाइसकेका छन्। किनकि क्यूएफएक्स लगायतका हलहरूमा ‘जारी’ को सिक्वेल प्रदर्शन भइरहेको छ- ‘जारी २: सङ अफ च्याब्रुङ’।

२०८० सालमा रिलिज भएको ‘जारी’ ले १७ करोडमाथिको व्यापार गरेको थियो। साथै समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो। त्यसकारण दर्शकहरू यस फिल्मको व्यग्र प्रतीक्षामा थिए। के सिक्वेलले ‘जारी’को साख जोगाएको छ त?

यो थाहा पाउनुअघि लागौँ, फिल्मको कथावस्तुतिर।

नामसाङ र हाङ्माको सुमधुर सम्बन्धसँगै सिक्वेलको सुरूवात हुन्छ। फिल्मको ट्यागलाइनले इसारा गरेजस्तै च्याब्रुङ सुरूदेखि नै कथामा पसेको छ। नामसाङले ससुरालीबाट च्याब्रुङ उपहार पाएका हुन्छन्। त्यही च्याब्रुङ बजाउँदै, पालाम गाउँदै उनी धान नाचमा रमाउन थालेका छन्। दिनरात केटाहरूसँग डुल्ने उनलाई परिवारको खासै वास्ता छैन।

यता मिरुनालाई भने घरधन्दा गर्नै ठिक्क। छोरी हुर्केर सात वर्षकी भइसकिन्। र, स्कुल पनि जान थालेकी छिन्। परिवार अनि छोरीको जिम्मेवारी उनलाई थिचिरहेको छ।

एकदिन नाच सकेर नाम्साङ घर फर्किँदै गर्दा बाटोमा सेनासँग ठोकिन्छन्। सैनिकहरूले नाम्साङको च्याब्रुङमा प्वाल पारिदिन्छन्। जसै प्वाल पारेको च्याब्रुङ लिएर नाम्साङ घर फर्किन्छन्, उतै उनीहरूको सम्बन्धमा भ्वाङ पर्दै जान्छ। फिल्ममा प्वाल परेको च्याब्रुङलाई सम्बन्धमा आउने दरारको बिम्बको रूपमा प्रयोग गरिएको छ। 

आफ्नो भाइले दिएको च्याब्रुङ च्यातिएको देखेपछि हाङ्मा रिसले चुर हुन्छिन्। आफ्नो माइतीको अपमान गरेको सम्झिँदै नाम्साङलाई गाली गर्छिन्। नाम्साङले स्पष्टीकरण दिन नपाउँदै झगडा सुरू हुन्छ। नाम्साङले फेरि श्रीमतीमाथि हात हाल्छन्।

उता माइतीमा हाङ्माका भाइले च्याब्रुङ च्यातेको र दिदी कुटेको थाहा पाउँछन्। त्यसपछि के चाहियो र? उग्र स्वभावका हाङ्माका भाइले नाम्साङलाई कुट्न खोज्छन्। माइती बोलाएको कुटाउन खोजेको भन्दै नाम्साङ निकै रिसाउँछन्। हाङमालाई घर छोडेर जान भन्छन्। श्रीमानको व्यवहारले हाङमा पनि छोरीलाई छोडेर माइत जान बाध्य हुन्छिन्। त्यसपछि नाम्साङ र हाङ्माको वैवाहिक सम्बन्ध के होला? त्यसको लागि भने हलसम्मै पुग्नुपर्छ।

‘जारी’कै निरन्तराको रूपमा सिक्वेलमा दम्पतीकै सम्बन्धको कथा प्रस्तुत गरिएको छ। सानोसानो कुराले वैवाहिक सम्बन्धमा कसरी असमझदारी र मनमुटाव ल्याइदिन्छ र कसरी आगो दन्काउँछ भन्ने कुरालाई फिल्ममा मसिनो ढंगले प्रस्तुत गरिएको छ। त्यसकारण फिल्म हेरिसकेपछि हरेक जोडी एकपटक आफ्नो सम्बन्धलाई नियाल्न बाध्य हुन्छन्। सम्बन्धमा दरार आउनुमा आफू पनि जिम्मेवार भएको महसुस गराउँछ। जुन फिल्मको सशक्त पक्ष हो।

‘जारी’झैँ सिक्वेलमा पनि लिम्बू समुदायको संस्कृतिलाई महत्त्वका साथ प्रस्तुत गरिएको छ। लिम्बू पोसाकदेखि धान नाच र खानपानका कुराहरू कथासँगै जोडिएका छन्। त्यस्तै, बलिया संवाद र हास्यरसले फिल्ममा रोमाञ्चकता पैदा गर्न सफल छ। कलाकारको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। दयाहाङ राई र मिरुना मगर पहिलेझैँ श्रीमान्-श्रीमतीको भूमिकामा फिट देखिन्छन्। विजय बरालको अभिनय उत्कृष्ट छ। उनको अनुहारको भांगभंगीले दर्शकमाझ हाँसो पैदा गर्छ। ऋचा शर्मा पनि कमान्डरको रूपमा सशक्त देखिएकी छिन्। अन्य कलाकारहरू पनि पात्रअनुसार सुहाएकै छन्।

भावनासँगै हास्यरसको सम्मिश्रणले फिल्मको पहिलो भाग रोचक बनेको छ। तर, दोस्रो भागमा भने कथा भड्किएको छ। च्याब्रुङको सट्टा कथा बन्दुकतिर मोडिएको छ। जसले पहिलो हाफमा बलियो लाग्ने नाम्साङ र हाङ्माको कथा दोस्रो हाफमा कमजोर लाग्न थाल्छ।

जनयुद्धको कथा हाबी हुँदा ‘जारी’मा जस्तो संवेदनाले छुँदैन। र, ‘जारी’ को कथाको लय समात्न नसक्दा सिक्वेल फिका लाग्न थाल्छ। जसले धेरै आशा बोकेर फिल्म हेर्न गएका दर्शकहरू निराश हुन्छन्।

हुन त यसअघि निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले ‘जारी’को सिक्वेल नबनाउने भनेका थिए। तर, सायद उनले कथा पूरा नभएको महसुस गरे। र, लिम्बूहरूको चर्चित बाजा च्याब्रुङ जोडेर ‘जारी २’ ल्याए। सिक्वेलमा द्वन्द्वकालको कथाले बढी स्थान पाउँछ। हुन त सुब्बाले द्वन्द्वको सन्दर्भ ल्याएर त्यसले सम्बन्धमा पार्ने असरको कथा भन्ने प्रयास गरेका छन्। तर, पर्दामा कथा बलियो रूपमा स्थापित गर्न नसक्दा ‘जारी’झैँ उत्कृष्ट बन्न चुकेको छ ‘जारी २’। सिक्वेलमा उनले ‘जारी’ को साख जोगाउन सकेका छैनन्।

त्यस्तै, चरित्र निर्माणमा पनि निर्देशक चिप्लिएको महसुस हुन्छ। नाम्साङदेखि हाङ्मा र मंगलसेनको कथाअनुसार चरित्रको विकास मजाले भएको देखिँदैन। त्यसैले पात्रहरू अप्ठ्यारोमा पर्दा जति छुनुपर्ने हो, त्यति छुँदैन।

उदाहरणका लागि, माओवादीको कब्जामा रहेका नाम्साङको जुन पीडा पर्दामा देखिनुपर्ने हो, त्यो देखिँदैन। त्यस्तै, श्रीमानलाई खोज्दै डाँडापाखा पुगेकी हाङ्माको दु:ख पनि दर्शकलाई महसुस हुँदैन। मंगलसेन नाम्साङका निकै मिल्ने साथी हुन्छन्। तर, साथी हराउँदा पनि उनी खोज्न जाँदैनन्। चरित्रको विकासमा समस्या देखिँदा फिल्मले संवेदना पक्रन सकेको छैन।

कथा तन्काउनुको साटो कथा र चरित्रको चित्रणको तालमेल मिलेको भए ‘जारी २’ उत्कृष्ट बन्न सक्थ्यो। यद्यपि, पहिलोसँग तुलना नगरी र धेरै आशा नबोकी हल पुग्ने दर्शकहरूलाई ‘जारी २’ राम्रै लाग्न सक्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad